मभित्र साहित्य चाहिँ सानैदेखि रहेछ– कृष्णउदाशी

  • प्रकाशित मितिः माघ, 6, 2074
  • पहिलो किताब संवाददाता

कृष्णउदाशी  नेपाली साहित्य आकाशमा संघर्षशील नाम हो । साहित्यका गजल, कविता, कथा, उपन्यास, गीतलगायतका विभिन्न विधामा कलम चलाइरहेका उदासी उर्लाबारीस्थित रेडियो प्राइममा ‘सिर्जनाको बगैँचा’ नामक साहित्यिक कार्यक्रम पनि संचालन गर्छन् । उनको २०६४ साल साउन १२ गते पहिलो कृति ‘दाइजो’ उपन्यासको विमोचन भएको थियो । उर्लाबारी गजल मञ्चका पूर्व अध्यक्ष तथा नेपाली साहित्य समाज उर्लाबारीका महासचिव रहेका उदासीसँग उनका जीवनका पाटोहरू हामीले खोतल्ने प्रयास गरेका छौं ।

तपाई कहाँ जन्मनुुभयो ?
म पाँचथर जिल्लाको फलैँचा गा.वि.स.मा बुबा भानुभक्त र आमा जशोदाको चौँथो सन्तान, साइलो छोराको रुपमा जन्मेको हुँ । मेरो प्रारम्भिक शिक्षा श्रीसिंह काली प्रावि बाटभएको हो । मैले श्री विष्णु माध्यमिक विद्यालय, च्याङ्थापूबाट एस.एल.सी. पास गरेको हुँ र +२ देखि स्नातकोत्तरसम्म उर्लाबारी बहुमुखी क्याम्पसबाट गरेको हुँ ।

कस्तो परिवारमा ?
मेरो परिवार सामान्य हो । खान्दानी पनि होइन खानलाउन पनि खाँचो थिएन ।

बाल्यकाल कसरी बित्यो ?
हाम्रो पालाको बाल्यकाल अहिले जस्तो थिएन । एकदम संघर्षपूर्ण थियो तर म त्यसलाई दुःख ठान्दिनँ । डेढ घण्टाको बाटो थियो स्कुल पुग्नलाई । बिहान एक भारी घाँस नकाटी स्कुल जान पाइदैन थियो । मलाई सम्झना भएको उमेरदेखि हामी घरका काममा पुरै सरिक हुन्थ्यौँ । त्यो एउटा किसान परिवारको लागि अनिवार्य पनि थियो ।

साहित्यमा कसरी आउनुभयो ?
म साहित्यमा आउनुको पहिलो कारण मेरो बाल्यकालको पारिवारिक वातावरण हो । घरमा बुबा हरेक दिन रामायण पढ्नुहुन्थ्यो र त्यो मलाई सारै मन पथ्र्यो । दोस्रो म प्रावि पढ्दा मलाई क ख सिकाउने गुरुआमा योगमाया दाहालको हौसला, तेस्रो मावि पढ्दाका मेरा गुरु मुक्तिनाथ रिमालको प्रेरणा र उर्लाबारी आइसकेपछि साहित्यकार रमेश भट्टराई, कवि मिश्र वैजयन्ती, निर्मल विकल राई, नबराज थापा लगायतको सहयोगले आज यहाँ छु ।



साहित्यका कुन कुन विधमा कलम चलाउनुहुन्छ ?
कृतिगत हिसाबले त मैले पहिला उपन्यास ल्याएको हुँ । तर पनि कविता, कथा, गजल र गीत मेरा रोजाइका विधा हुन् ।

हालसम्म तपाईका कृतिहरु ?
फुट्कर त म सम्झिन सक्दिनँ, कृतिगत हिसाबमा दाइजो उपन्यास (२०६४) दोभानपारि बाबरी (गजल संग्रह २०६७), म हराएको साँझ (कथा संग्रह २०७०, बबिता घिमिरेसँग संयुक्त २०७०) ।

नयाँ आउन लागेका केहि छन् कि ?
अहिलेचाहि मेरो एकल शब्द र गौरभ दर्पणको एकल संगीतमा राष्ट्रभावका गीतहरूको एल्बमको तयारीमा छु ।

गीतसंगीतमा नि निक्कै सक्रिय हुनुहुन्छ नि ?
हो, पछिल्लो समयमा गीत संगीतमा पनि काम गर्दै छु ।

साहित्य लेखन बाहेक अरु केही बन्ने सपना थियो की ?
थिएन, मभित्र साहित्य चाँहि सानैदेखि रहेछ । बस ! मेरो जीवनमा ठूलो सपना नै छैन ।

कसैले ल्याएको हो या आफै आउनुुभयो ?
साहित्य सिर्जना प्राकृतिक कुरा हो, कसैले ल्याएर आइदैन ।

सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
खासमा म स्थापित भएकै छैन । म त अझै नयाँ नै छु । अग्रजहरूबाट सिक्दैछु ।

आफ्नै नजरमा कृष्ण उदाशी के हो र कोहो ?
मेरो नजरमा कृष्णउदाशी सामान्य मान्छे हो र ऊ नेपाली साहित्यमा बामे सर्न खोजिरहेको छ । उसलाई सकरात्मक सुझाव, सल्लाह र सहयोगको खाँचो छ ।

मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
संसार जीवन र मृत्युको चक्र हो । मेरो जीवनको दीयो निभ्दैगर्दा “कृष्णउदाशी भन्ने एउटा फटाहा थियो मरेछ, ठीकै भयो” भनेर कसैले पनि भन्ने ठाउँ नरहोस् मलाई केही चाहिँदैन ।



आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
मलाई मेरा सबल पक्षहरूको जानकारी छैन ।

अनि कमजोर पक्ष चहि नी ?
मेरा कमजोरीहरू अत्यन्तै धेरै छन् । सुधार्ने कोसिस गरिरहेको छु तर कतिपयचाहि प्रकृतिप्रदत्त भएको कारण सुधार्न बहुत गारो हुँदोरहेछ ।

कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
ऊ सँगको व्यवहारिक सामिप्यताले निर्धारण गर्छ ।

तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
मेरा स्वाभावको आधा भाग प्रकृति हो, आभा भाग पारिवारिक संस्कार, अध्ययन र समाजले निर्धारण गरेको छ ।

तपाईलाई कति खेर रिस उठ्छ ?
आफू प्रतिकूल हुने कुनै पनि क्रियाकलापले विपरित प्रतिक्रिया उत्पन्न गर्नु मानवीय संवेगभित्र पर्छ । म पनि त्यस्तै हुँ । तर नियन्त्रण गर्ने कोसिस सकेसम्म गर्छु ।

अनि कतिखेर भावुक हुनहुन्छ ?
भावुक त मलाई जेसुकै वियषले पनि बनाउँछ ।

तपाईलाई कस्तो स्थीतिले उत्तेजित तुल्याउँछ ?
यो पनि रिस जस्तै हो ।

तपाई कतिको संयमित हुनुहुन्छ ?
संयमित हुने कोसिस बहुत गर्छु तर मान्छे हुँ कहिले काही कमजोरी पनि गर्छु ।

अनि कतिखेर खुुसी हुनुहुन्छ ?
मलाई खुसी हुन ठुलो विषय नै चाहिँदैन ।

तपाईका दुःखहरु के हुन् ?
समस्त नेपालीहरूले भोगिरहेका दुःखहरूको अंशियार म पनि हुँ ।

अनि तपाईको सुख चाहि नि ?
सुख भनेको म पूर्ण स्वातन्त्र छु । कुनै बन्धनमा छैन यो भन्दा सुखी कति हुनु । अभाव त मान्छेलाई भइहाल्छ नि । हाहाहाहा

तपाईको जीवनको सबैभन्दा दुखद् क्षण ?
२०६२ साल चैत ९ गते उर्लाबारीमा भएको माओवादी र आर्मीको भिँडन्तमा म मरेर बाँचेको छु ।

अनि खुसीको क्षण चाहिँ नी ?
खुसीका क्षणहरू धेरै छन् त्यसमा पनि २०६४ साल साउन १२ गते मेरो पहिलो कृति दाइजो उपन्यासको विमोचन भएको थियो ।

तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
२०६६ सालमा बहिनीको उपचारको लागि सिलिगुरीमा रहेको बेला आफूसँग भएको सबै पैसा सकिएपछि बिरामीलाई अस्पतालको बेडमै छोडेर कसैलाई नभनी नेपाल आएको थिएँ ।

त्यसलाई के को बलमा पार गर्नुभयो ?
म जहिले पनि समय बित्दै जाँदा समाधान पनि आउँछ भन्ने सोच्छु ।

अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
मैले गरेको सही निर्णय भनेको नै साहित्य रचना जस्तो सफा बाटोमा लाग्नु हो ।

अनि गलत चहि नी ?
गलत निर्णयहरू त धेरै गरिँदो रहेछ जीवनमा, काम बितेपछि सारै नमिठो लाग्छ ।

सबैभन्दा पछुुतो लागेको क्षण ?
म १५ वर्षको थिएँ । हाम्रो गोठ घरबाट ४–५ घण्टाको बाटो माथि लेकतिर थियो । मेरो स्कूल वर्खे बिदा भएकोले बुबासँग गोठमा बसेको थिएँ । त्यस बिचमा ३ दिनको लागि बुबा घर झर्नु भयो । म एक्लै भएको थिएँ गोठमा । ४–५ वटा गाईहरू त्यही हप्ताभरिमा ब्याउनेवाला थिए । बुबा घर झरेको भोलिपल्ट बेलुकैदेखि खुब पानी परिरहेको थियो । चन्देमाली नाम गरेको गाई राती ब्याए छ र बाछो चिप्लेर गोठको बलेँसीमा पुगेछ । रातको १ बजेतिर म बिउँझिएँ र थाहा पाएर हेर्न जाँदा त बाछो अररो भइसकेको थियो । त्यो क्षण सम्झँदा अहिले पनि जिउ जिरिङ्ग हुन्छ ।

अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
म मान्छे हुँ, मभित्र रुने संवेग पनि छ र रोएको पनि छु तर त्यसरी यही कारण रोएको छु भन्ने गरी सम्झना छैन ।

तपाईलाई कस्तो मान्छे मन पर्छ ?
मलाई सरल र मिहेनती मान्छे बहुत मनपर्छ ।

अनि कस्तो मन पर्दैन ?
पाँच रुपैयाँको काम गरेर पाँचसयको विज्ञापन गर्ने मान्छे मलाई पटक्कै मन पर्दैन ।

तपाईं कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
भ्रष्टाचार प्रमाणित भएका जो कोहीलाई पनि म घृणा गर्छु ।

फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
म खासै फुर्सद हुँदिनँ । फुर्सद त आफैले मिलाउने हो, केका लागि फुर्सद मिलाएको हो त्यही गर्छु ।

लेखन बाहेक तपाईको रुचीको क्षेत्र ?
लेखन बाहेक, नयाँ कुराको अध्ययन र भ्रमण मेरो रुचीको विषय हो ।

तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
थुप्रै छन् त्यसमा पनि सरुभक्तको पागलबस्ती र कृष्ण धराबासीको राधा उपन्यास बहुत मनपर्छ ।

अहिले कस्ता पुस्तक पढिरहनु भएको छ ?
पढ्न त सबैखाले पढ्छु तर अहिले अलि चुजी भएको छु, पुस्तकले तानेन भने पढ्दिनँ ।

दोहोराएर पढ्नुु भएको पुुस्तक ?
थुप्रै छन्, त्यसमा पनि रामायण, महाभारत, पागलबस्ती विशेष ।

कस्ता फिल्म हेर्नुुहून्छ ?
एक्सन भन्दा कथानक चलचित्र मनपर्छ ।

तपाईलाई मनपर्ने फिल्म ?
अहिलेसम्म हेरेका नेपाली हिन्दी चलचित्रहरूमध्ये अमिर खानको “तारे जमिनपर” असाध्यै मन परेको ।

दोहोराएर हेर्नुभएको फिल्म ?
चलचित्र दोहो¥याएर हेरेको थाहा छैन ।

तपाईलाई मन पर्ने हिरो हिरोइन ?
अहिले चाहि आर्यन सिग्देल र केकी अधिकारी ।

तपाईलाई रुवाएको फिल्म ?
चलचित्र हेरेर रोएको थाहा छैन ।

मनपर्ने गायक–गायिका ?
मलाई गौरभ दर्पणको आवाज मनपर्छ र गायिकामा पछिल्लो समय मेलिना राईको आवाज राम्रो लाग्छ ।

मनपर्ने ठाउँ ?
मलाई ठाउँ त सबैतिर राम्रो लाग्छ ।

मनपर्ने खाना ?
आजका मितिसम्म मलाई खसीको मासु र भात मनपर्छ । हाहाहाहा



मनपर्ने पोसाक ?
प्राय सर्टपाइन्ट नै लगाउँछु ।

तपाईलाई मनपर्ने नेपालका नेता ?
लालबाबु पण्डित र जनाद्र्धन शर्मा हाललाई ।

अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
मलाई फिडेल क्यास्ट्रोको जीवनीले प्रभावित पारेको छ ।

नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
विश्वप्रकाश शर्मा र राजेन्द्र लिङ्देन ।

तपाईको आदर्श को हो, किन ?
मेरो आदर्श समय हो । समयभन्दा ज्यादा मलाई कसैले केही सिकाउन सकेन ।

नेपालका मन पर्ने साहित्यकार ?
सबै मन पर्छ त्यसमा पनि सरुभक्त र कृष्ण धराबासीसँग केही छ जस्तो लाग्छ ।

आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
छ । मैले जति मिहेनत गर्नुपर्ने हो त्यो गरिरहेको छैन ।

अनि यो समाजप्रति चहि नी ?
समाज त हामीले बनाउने हो । एउटा औँलाले समाजलाई देखाउँदा बाँकी ४ ओटा औँला आफैँतिर फर्किन्छन् । हाहाहाहा

जीवन के रहेछ ?
सिर्जनामा लेखियो होला जीवनको परिभाषा तर अनुभवमा जीवनको अग्लो परिभाषा हुनेहरूका अघि मेरो सारै होचो हुनसक्छ ।

बाँकी योजना र सपना कस्ता छन् ?
ठूला सपना, योजना छैनन् । सम्मानपूर्वक आफ्नो जीवन बाँच्न पाइयोस् ।

साहित्यमा लागेर के पाउनुभयो ?
राम्रा मान्छेहरूको संगत पाएको छु ।

अनि के गुमाउनु भयो ?
गुमाउनलाई त पहिला आफूँसँग हुनुपर्छ, त्यस्तो लोभ लाग्दो चिज गुमाउनलाई मसँग केही थिएन ।

साहित्यमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
अझै पनि नेपाली साहित्य व्यवसायिक बनेको छैन । यो सानो सर्कलमा घुमिरहेको छ । हल्ला गर्न नलजाउने र सकेसम्म हजुर भनिदिनुपर्नेहरूसँगै छ ।

साहित्यमा आउने नयाँलाई के सुझाव दिनुहुन्छ ?
म आफै नयाँ छु । अध्ययन ठूलो कुरा रहेछ भन्ने बुझ्दैछु ।

- प्रस्तुति तेजन खड्का



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved