पञ्चायतिमा कुटिएका यादवको निधन : हत्यामा संलग्नलाई पक्राउ गरेन प्रहरीले

  • प्रकाशित मितिः असार, 27, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर / पञ्चायतिमा बोलाएर कुटपिट गरिएका विराटनगर–१४ जतुवाका समानन्द यादवको निधनपछि पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै आफन्तले गुनासो गरेका छन् । छोराको विवाहको विषयलाई लिएर विराटनगर–१४ का वडाअध्यक्ष बालदेव यादवको घरमा गत जेठ ३२ गते भएको पञ्चायतिमा यादवमाथि निर्घात कुटपिट गरिएको थियो ।

कुटपिटबाट ‘सर्भाइकल स्पाइन’ का सि–३ देखि सि–६ सम्मका हड्डीहरु भाँचिएका घाइते यादवको बिहीबार साँझ कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । यादवको मृत्युपछि आफन्तले घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीसँग गरेको अनुरोधलाई अस्वीकार गरिएको भन्दै शुक्रबार आक्रोशित समूहले अस्पताल परिसरमा चक्काजाम समेत गरेका छन् ।

मृतकका छोरा पीडित राजकुमार यादवका अनुसार गत असार १ गते मोरङ प्रहरीमा ज्यान मार्ने उद्योग अन्तर्गत किटानी जाहेरी दिइएका कोहि पनि व्यक्तिहरु नियन्त्रणमा लिइएको छैन । पीडित परिवारले घटनामा संलग्नमध्येका शम्भु भनिने विजय यादव, किटानी भनिने दिनेश यादव, भोला यादव, रविनशंकर यादव, दिपेश यादव विरुद्ध किटानी जाहेरी दिइएका छन् । यसैगरी घटना गराउन उस्काउने

विराटनगर–१४ का बालदेव यादव, १८ का सन्जय साह र जहदा गाउँपालिका–१ का प्रदिपचन्द्र यादव विरुद्ध पनि प्रहरीमा जाहेरी दिइएको थियो । मोरङ प्रहरीले पहुँचवाला पीडकसँग पीडितलाई मिलाउने योजनासहित ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा किटानी जाहेरी दिएका व्यक्तिलाई नियन्त्रणमा लिन आनाकानी गर्दै आएको आरोप आफन्तको छ । प्रहरीले जाहेरीमा उल्लेख गरिएका व्यक्तिहरुलाई नियन्त्रणमा लिनुपर्ने भन्दै मृतकका आफन्तले शुक्रबार कोशी अस्पताल परिसरमा प्रर्दशन गरे भने अस्पताल अगाडीको सडकमा लास चक्काजाम समेत गरेका थिए ।

प्रहरीले सबै खर्च बेहोर्न लगाउने भन्दै घटना भएको दिन उपस्थित रहेका तीनजना अध्यक्षहरुको नाम हटाएर अर्को जाहेरी लेख्न शुक्रबार पीडित परिवारलाई दवाव दिइएको आरोप पीडित परिवारको छ । घटना विराटनर–१४ का वडा अध्यक्ष बालदेव यादवको घरमा भएको थियो । यावदसहित अन्य दुईजना सन्जय साह र प्रदिपचन्द्र यादव पनि घटनामा संलग्नमध्येका प्रमुख पात्र रहेको मृतकका छोरा मुकेश यादवको आरोप छ ।

मोरङ प्रहरीका प्रहरी उपरीक्षक विश्व अधिकारीले लास पोष्टमार्टमको प्रक्रियामा रहेको र किटानी जाहेरीमा उल्लेख भएका नामहरुको विषयमा अनुसन्धान भईरहेको बताउनुभयो । उहाँले प्रहरीले घटनामा संलग्नको खोजि गरिरहेको दावी गर्नुभयो ।

मृतक यादवलाई विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा २२ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्यसपछि भारतको सिलगुडीमा चारदिनसम्म राखेर कोशी अस्पताल फर्काइएको थियो ।

यो बीचमा प्रहरीले घटनामा संलग्नसँग घाइतेको उपचारका लागि भन्दै तीनलाख रुपिँया उपलब्ध गराउन लगाएको थियो । घटना भए लगतै दिएको जाहेरीमाथि कारवाही नगर्नु प्रहरी र पीडकबीचको मिलेमतो जस्तो देखिएको पीडित परिवारको आरोप छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved