विदेशी अपराधीको साढे तीन अर्ब संकटमा: बाटो लागिसके अपराधी

  • प्रकाशित मितिः माघ, 26, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं - अदालतको फैसलाअनुरूप अपराधमा संलग्न विदेशी नागरिकबाट जरिवानावापत असुल्नुपर्ने साढे तीन अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। जरिवानासँगै विदेशी अपराधीले भुक्तान गर्न बाँकी जेल सजाय वर्ष जोड्दा तीन सय वर्ष पुग्छ। अदालतबाट अन्तिम फैसला भए पनि स्पष्ट कानुन र अन्तरदेशीय सहयोगको अभावमा यस्तो विकराल समस्या उत्पन्न भएको खबर आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा छापिएको छ ।

जरिवानाको चाङ
काठमाडौं जिल्ला अदालतको तहसिल अभिलेखको ढड्डामा विदेशीबाट असुल्नुपर्ने २०१९ सालयताको दण्ड र जरिवानाको लामो चाङ छ। कर्तव्य ज्यान, लागुऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्तिचोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार तथा खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दाका तीन सय ८३ जना विदेशी नागरिकलाई कैद ठेकिएको छ।

बाटो लागिसके अपराधी
यीमध्ये अधिकांश अपराधी मुद्दा चल्दाचल्दै फरार भइसकेका छन्। सर्वोच्च अदालतबाट अपराध ठहर भए पनि जिल्लाको फैसला पुनरावेदनबाट उल्टिएलगत्तै ठूलो परिमाणमा जरिवाना र कैद असुल्न बाँकी अपराधी बाटो लागिसकेका छन्। सीमित संख्यामा मात्र दण्ड, जरिवानावापत विदेशी अपराधीले सजाय भुक्तान गरिरहेका छन्।

कार्यविधिगत स्पष्टता छैन
काठमाडौं जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकारी ध्रुव ढकाल सुपुर्दगी सन्धि र पारस्परिक सहयोगसम्बन्धी कानुन बनाएर सम्बन्धित मुलुक यसको पक्ष भए मात्र विदेशी अपराधी समात्ने उपाय निस्कन सक्ने बताउँछन्। ‘तर विदेशतिरको सबै अवस्था बुझ्न र समन्वय गर्न कार्यविधिगत स्पष्टता छैन। त्यसैले विदेशी अपराधी समात्न जटिलता छ,’ उनी भन्छन्, ‘कस्तो संयन्त्र बनाएर समात्ने हो भनेर ऐनमा निर्दिष्ट छैन। समात्न सके पो बल्ल राष्ट्रको ढुकटीमा आउँछ।’

अहिलेको कानुन
नेपालले पारस्परिक सहायतासम्बन्धी कानुन बनाए पनि यसलाई स्वीकार गर्ने मुलुकका लागि मात्र यो लागु हुन सक्छ। कुुनै राष्ट्र कानुनको पक्ष रहे मात्र विदेशी अपराधीलाई समात्न सम्भव हुन्छ। अन्यथा इन्टरपोललाई आग्रह गरेर समात्नेबाहेक बाँकी विकल्प छैन। तर, कैदमा राख्न इन्टरपोलमार्फत अपराधी पठाइहाले पनि जरिवानावापतको रकम उठ्न असम्भव छ। कानुन बनेर अर्को मुलुक सहमत भइहाले पनि आफ्ना नागरिकलाई सुपुर्दगी गर्न सहज छैन। अहिलेको कानुनअनुरूप नेपाल सरहद (सीमा) भित्र फेला पारे मात्र ठाडै पक्रन सकिन्छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved