अमेरिकी सेयर बजारमा ६ वर्षयताकै गिरावट- एसिया र अस्ट्रेलिया पनि प्रभावित

  • प्रकाशित मितिः माघ, 23, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/  सन् २००८ को आर्थिक संकटपछि अमेरिकी स्टक मार्केटमा उल्लेखीय गिरावट देखिएको छ । डाउजोन्स औद्योगिक इन्डेक्स गएको रात एकैदिनमा ४.६ प्रतिशतले घटेर एक हजार १७५ प्वाइन्टले तल ओर्लेको बीबीसी, सीएनएनलगायतका समाचार संस्थाले उल्लेख छन् । अमेरिकाका सम्पूर्ण संचारमाध्यम यसरी अर्थतन्त्रको सूचक अचानक तल गएकोमा आश्चर्यमा परेका छन् । सन् २००८ मा एकैदिन यो इन्डेक्स ७७७.६८ प्रतिशत तल झरेको थियो । त्यसैले यो अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो भनिएको छ  ।

अमेरिकी बजारको यो डरलाग्दो ओरालोलाई अमेरिकी लगानीकर्ताले निकै सजग भएर हेरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिले २४ हजार ३४५ प्वाइन्टमा पुगेको डाउजोन्स इन्डेक्स कुनै खास आर्थिक कारणले नभएकोले यसको ठूलो असर पर्दैन भनेर अमेरिकी सरकारलाई समर्थन गर्ने फक्स च्यानलले दाबी गरेको छ । अमेरिकी चुनावको नतिजापछि लगातार अघि बढिरहेको कारणले पनि बजार कोर्स करेक्सनका लागि अचानक तल गएको भनेर पनि केही सरकार समर्थकले भनिरहेका छन् ।
 
न्युयोर्क टाइम्समा पउल क्रुगम्यान लेख्छन्, स्टक मार्केटको यो ओरालोलाई हामीले अर्थतन्त्रलाई सशक्त ढंगले पुनरावलोकन गर्नुपर्ने देखाउँछ । उनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका अनुयायीले दाबी गरेको भन्दा अमेरिकी अर्थतन्त्र निकै मन्द गतिले अघि बढ्ने संभावना देखिएको छ ।
 
डाउ बाहेक नासडाक पनि ४ प्रतिशतले तथा एस एण्ड पी (स्टाण्डर्ड एण्ड पोर्स) इन्डेक्स पनि ४ प्रतिशतले खसेका छन् । अमेरिकी बजार ओर्लेका कारण जापानको निक्केई इन्डेक्स पनि मंगलबारको बजार खुल्दा ओरालो लाग्न शुरु गरेको छ ।

अमेरिकाको सेयर बजार सूचक ‘डाउ जोन्स इन्डस्टि्रयल एभरेज’मा सोमबार ६ वर्षयताकै उच्च गिरावट आएपछि त्यसको प्रभाव एसियाली बजारमा पनि देखिन थालेको छ । उक्त सूचक ११ सय ७५ अंक -४.६ प्रतिशत) ले घटेर २४ हजार तीन सय ४५ मा सीमित भएको छ ।

अमेरिका र विश्व अर्थतन्त्रमा आइरहेको परिवर्तनका कारण बजार घटेको विश्लेषकहरुको भनाइ छ । खासगरी, अमेरिकामा कर्जा लिन महँगो पर्ने देखिएपछि बजार घटेको हो । अमेरिकाको श्रम विभागले सार्वजनिक गरेको रोजगारसम्बन्धि तथ्यांकअनुसार श्रमिकहरुको ज्यालादरमा पहिले बताइएभन्दा धेरै वृद्धि भएको पाइएको छ ।

सीएमसी मार्केट एनालिस्ट माइकल म्याक कार्थीका अनुसार पछिल्लो घटनाक्रमले व्याजदरमा वृद्धि हुने वातावरण बनेको मान्न थालिएपछि बजार घटेको हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जभले आधार व्याजदरलाई छिटो-छिटो र उच्च दरले बढाउने शंका त्यहाँका लगानीकर्ताहरुमा देखिन्छ । अर्थतन्त्रको गतिलाई सन्तुलित बनाउन केन्द्रीय बैंकसामु त्यसको विकल्प देखिँदैन ।

अमेरिकी अर्थतन्त्र सबल बनिरहेको देखिँदै गर्दा बजारमा आएको यस्तो गिरावटलाई धेरैले ‘सकारात्मक समाचारको नकारात्मक प्रभाव’ बताएका छन् ।

‘अमेरिकाको आर्थिक अवस्था सोचिएभन्दा सबल बनेपछि यसको उल्टो प्रभाव देखिएको हो । तर, यसलाई आफ्नो लगानी पुनर्मूल्यांकन गरिएको अवस्थामा हेर्नुपर्ने हुन्छ,’ एस एन्ड पी ग्लोबल मार्केट्स इन्टेलिजेन्सकी लगानी व्यवस्थापक इरिन गिब्स भन्छिन् ।

अमेरिकी अर्थतन्त्र उच्चदरमा बढ्दा महँगीको समेत चिन्ता देखिएको छ । र, त्यसको प्रभाव सेयर बजारमा पर्ने चिन्ता पनि छ ।

एसियामा दक्षिण कोरियाको बजार कोस्पी दुई दशमलव ६ र अस्ट्रेलियाको एसएन्डपी/एसएक्स-२०० सूचक तीन प्रतिशतले घटेका छन् । भारतीय बजार सूचक सेन्सेक्स र निफ्टी क्रमशः १२ सय र तीन सय अंकले घटेका छन् ।

भारतीय सेयर बजारमा मंगलबार कारोबार शुरु भएको केही समयमै ठूलो गिरावट देखिएको हो ।

पछिल्लो दशकमा अमेरिकाको व्याजदर निकै न्यून छ । सोही कारण एसियाली बजार र अर्थतन्त्रमा पनि अमेरिकी लगानी भित्रिरहेको थियो । बीबीसीका अनुसार अमेरिकी बजारमा गिरावटको प्रभाव त्यसप्रकारको लगानीमा पनि देखिने निश्चित छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved