कमिसनमूक्त महासंघ बनाउँछुः हरिशरण केसी

  • प्रकाशित मितिः माघ, 5, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/ देशभरीका २ सय ८० यातायात व्यवसायी संघहरूको साझा संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं महाधिवेशन यही माघ १७ देखि १९ गतेसम्म चितवनमा हुँदैछ । १६ सय ८० प्रतिनिधि र पर्यवेक्षकसहित करिब २ हजारको सहभागितामा हुने महाधिवेशनबाट बन्ने नेतृत्वमा को आउने अहिले होड चलिरहेको छ ।

एक अध्यक्ष ३ वरिष्ठ उपाध्यक्ष, ८ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, २ सचिव एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष सहितको १९ सदस्यीय पदाधिकारी रहने महासंघमा यातायात व्यवसायी, स्वरोजगार तथा मजदुरहरूबीच लोकप्रिय र खेलाडी पृष्ठभूमिका हरिशरण केसी (हुस) ले वरिष्ठ उपाध्यक्षका रूपमा आफ्नो उमेदवारी अगाडि सारेका छन् ।

कान्तिपुर यातायात व्यवसायी संघका अध्यक्षसमेत रहेका केसी हाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रहेर यातायात व्यवसायी, स्वरोजगार र मजदुरहरूको पक्षमा काम गरिरहेका छन् ।

“वरिष्ठ उपाध्यक्षमा मेरो उमेदवारी नेतृत्वको क्रमिक विकासको हिसाबले पनि सान्दर्भिक छ,” हुस नामले चर्चित केसीले भने, “एक पटक केन्द्रीय सदस्य, एक पटक सचिव, एक पटक उपमहासचिव र एक पटक उपाध्यक्ष भएर १३ वर्षदेखि निरन्तर व्यावसायीको पक्षमा काम गरिसकेको छु, यस पटक व्यवसायीले नै वरिष्ठ उपाध्यक्ष हुनु पर्छ भन्ने सल्लाह दिएअनुसार उमेदवारीको घोषणा गरेको छु ।”

मजदुर पृष्ठभूमिका हरिशण केसी (हुस)
काठमाडौंको पुरानो बसपार्कमा २०४१ सालमा बुकिङ काउण्टरमा यात्रुहरूको टिकट काट्ने कामबाट यातायात मजदुरी थालेका थिए केसीले । काठमाडौं–काकडभिट्टा रुटमा चल्ने गोर्खा डिलक्समा सुरुका दिनमा केसीले काम गरेका थिए । उनी २०४४ सालमा चन्द्रमा टङाभल्सका ईन्चार्ज भए, २०४८ सालमा मध्यमाञ्चल यातायात व्यवसायी संघमा व्यवस्थापक भए र २०५८ सालमा बस आफैंले खरिद गरेर कान्तिपुर यातायात व्यवसायी संघ स्थापना गरेपछि उनी यातायात मजदुरबाट यातायात व्यवसायी बने ।

उनी भन्छन्, “म बसपार्कको एउटा सानो काउण्टरबाट मजदुरी गरेर व्यवसायी बनेकाले व्यवसायीको हक, हित र अधिकारका लागि त लडिरहन्छु, सँगै मजदुरहरूको पक्षमा पनि उतिकै आफुलाई समर्पित गरेर काम गर्छु त्यही भएर आधारभूत तहका मजदुरहले पनि मलाई उतिकै माया गरेका छन् ।”

जहिल्यै प्रतिपक्षी केसी
उनी हाल महासंघको उपाध्यक्ष छन् तर उनी आफ्नै कमिटीका नेताहरूका लागि स्थायी प्रतिपक्षीको भूमिकामा छन् । उनी खुलेर भन्छन्, “हालका नेतृत्वले देशभरीका व्यवसायी संघहरूलाई ध्वस्त बनाएका छन् । कमिशनको लोभमा अहिलेका पदाधिकारीहरू नै कम्पनी दर्ता गर्दै हिंडेका छन् । व्यवसायी, स्वरोजगारका दृष्टिले मजदुरहरू कमजोर छन् । लगानी असुरक्षित छ ।”

“महासंघ नेतृत्व आर्थिक चलखेलमा परेकै कारण पुराना व्यवसायीहरू धराशायी हुँदैछन् । अनावश्यक गाडीहरू भित्र्याएर यातायात क्षेत्र तहसनहस भइरहेको छ ।”
हक्की स्वभावका केसी भन्छन्, “महासंघका नेताहरूले नै कमिशनको खेलमा ट्राफिक जरिमानालाई बैंकिङ गर्न लगाएर व्यवसायी र मजदुरलाई घण्टौं लाइनमा उभ्याएर सास्ती दिने निर्णय गरे । भूकम्प पीडितको नाममा अनावश्यक ट्याक्सी थपिएको छ । एम्बोस्ड नम्बरको नाममा एउटा व्यवसायी मजदुरलाई ३ हजार २ सय अनावश्यक आर्थिक भार बोकाइएको छ ।”

आन्दोलन सुरु गरेर उपलब्धिबिना स्थगन गरेको उनी स्मरण गर्छन् । तिनै व्यक्तिहरू महासंघको बागडोर लिनलाई राजनीतिक आवरणमा नेताका घर घर धाइरहेको उनी बताउँछन् ।

म यसो गर्छु
आफू पीडित यातायात व्यवसायी र स्वरोजगार मजदुरहरूको तर्फबाट उमेदवार बनेको बताउँदै उनले केसीले भने, “अबको महासंघले यातायात क्षेत्रमा व्याप्त अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्दै, ‘वान डोर सिस्टम’ मार्फत व्यवस्थित बनाउँदै सेवालाई जनमुखी बनाउने काममा आफ्नो तर्फबाट भूमिका निर्वाह गर्छु ।”

हरेक पेशा, व्यवसाय र आस्थामा विश्वास गर्ने जो कोहीले संघ संगठन खोल्ने अधिकार संवैधानिक अधिकार भएपनि पछिल्लो समय सरकारले यातायात व्यवसायी संघहरूको संस्था नवीकरणमा झमेला गरिरहेको छ । त्यसमा महासंघलाई आत्मविश्वासका साथ काममा सहजताका लागि परिचालन गर्न आफ्नो तर्फबाट जिम्मेवारी पूरा गर्ने उनले बताए ।

नेपाल कराते महासंघका महासचिव, वादोरियो कराते डोका अध्यक्ष तथा संस्थापक प्रमुख प्रशिक्षक, साउथ एशियन वादोरियो महासंघको अध्यक्षसमेत रहेका केसी आफ्नो उमेदवारी महासंघलाई यातायात व्यवसायी, स्वरोजगार तथा मजदुरहरुको हितमा उपयोग गर्दै कमिशन र सरकारसँग दलाली गर्ने गलत प्रवृतिको विरुद्धमा रहेको बताए । उनले भने “मलाई जिताउनुस् म सधैँ तपाईंहरूको पक्षमा लडिरहने छु, कमिशनमूक्त महासंघ बनाउँछु ।”



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved