अमेरिका र पाकिस्तान नजिकिँदै, चिन्तामा भारत

  • प्रकाशित मितिः श्रावण, 1, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / पछिल्लो समय पाकिस्तानले अमेरिकासँग सम्बन्ध कसिलो बनाउँदै लगेको छ । उसको छिमेकी भारतसँग दशकौंदेखि नै सम्बन्ध चिसो छ । विशेषगरी काश्मिरलाई लिएर यी दुई निकटतम छिमेक सधैं वादविवादमा रहन्छन् । तत्कालै भारत–पाकिस्तान सम्बन्ध सुध्रने कुनै छाँट छैन । यी दुई मुलुकबीचको द्वन्द्वका कारण दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) सम्मेलन हुन नसकेको लामो समय भइसकेको छ ।

पाकिस्तानले भारतलाई प्रायः बेवास्ता गरेको देखिन्छ । र, उसले बेलाबखत चीनतर्फ मित्रताको हात बढाउने गर्छ । चीनले पनि पाकिस्तानलाई परेका बेला मद्दत गर्दै आएको छ । सामरिक, आर्थिक वा प्राविधिक सहयोग चीनले गर्दै आएको देखिन्छ ।

चीनले गरेको सहयोगले भारतलाई उतिविधि चिन्तित बनाएको नदेखिए पनि जब अमेरिका पाकिस्तानसँग नजिकिन थालेको सङ्केत देखियो तब भारत शशङ्कित हुन थालेको छ । साथै, अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सुविधा पनि हालै खोसिदिएको छ । र, भारतबाट निर्यात हुने कतिपय सामानमा शुल्क वृद्धिको घोषणा गरिदिएको छ । यसकारण पनि पाकिस्तान अमेरिकासँग नजिकिँदा भारत बढी चिन्तित हुन पुगेको हो ।


केही दिनअघिमात्रै अमेरिकाले अफगानिस्तानमा शान्ति स्थापना र तालिबानलाई वार्ताको टेबुलमा ल्याउने सन्दर्भमा भारतलाई पूर्णतः बाहिरै राखिदियो । चाहे अफगानिस्तानको सवाल होस् चाहे तालिबान, भारतले लामो समयदेखि चासो राख्दै आएको छ । यो विषयमा भारतले सदा सकारात्मक कदम चालेको विश्लेषकहरुको भनाइ छ ।

यसैबीच आगामी साता अर्थात् जुलाई २२ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच शिखर वार्ता हुँदैछ । यसले दुवै देशबीचको सम्बन्ध सुदृढ हुने र सीमा क्षेत्रमा व्यापक शान्ति छाउने अपेक्षा पाकिस्तानले गरेको छ । मङ्गलबार पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले ट्रम्प र खानबीचको शिखर वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरेका छन् ।

शिखर वार्ता भनिए पनि यो अचानक तय भएको कार्यक्रम हो । यो भेटले दुई देशबीचको पुराना तीक्तता पूर्णतः मेटिने पाकिस्तानको विश्वास छ । यसबाट अफगानिस्तानमा शान्ति सम्झौता र यसका लागि ह्वाइट हाउसमा छलफलको वातावरण तयार हुने बताइएको छ ।

‘पाकिस्तान–अमेरिका’ सम्बन्धबारे आयोजित सेमिनारलाई सम्बोधन गर्दै विदेशमन्त्री कुरेसीले दुई देशबीचको सम्बन्ध सुधारका लागि उत्तम विकल्प र सहयोगको भावना जागृत हुनुपर्ने बताए । उनले भने, ‘‘दुई देशबीच सम्बन्धमा विगतमा उतारचढाव रह्यो, तर यसलाई अहिलेको सन्दर्भमा हेर्दा ‘सक्रिय सहयोग’ र लाभदायी हुँदै गएको छ ।’’

पाकिस्तानमा इमरानले सरकार बनाएपछि देशले उल्लेखनीय प्रगति गर्ने अपेक्षा गरिएको थियो । उनले सत्तामा गएका दिनदेखि पाकिस्तानलाई समृद्ध पार्ने अठोट पनि लिएका छन् । तर यतिखेर पाकिस्तान चरम आर्थिक सङ्कटमा परेको छ । अन्तरराष्ट्रिय मुद्रा कोषलगायत अन्य संस्थाबाट ऋण सहयोग लिन पाकिस्तान बाध्य भएको छ । यस्तो अवस्थामा पाकिस्तानले विश्व शक्ति अमेरिकासँग सम्बन्ध सुधारमा लाग्नुलाई सकारात्मक मानिएको छ । उता, उदीयमान अर्थतन्त्र चीनसँग पनि उसले विश्वासिलो सम्बन्ध बनाउँदै आएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved