महासङ्घमा सिसीटिभी जडान

  • प्रकाशित मितिः भदौ, 8, 2076
  • पहिलो किताब संवाददाता

बलेवा / अज्ञात समूहले नवनिर्मित भवनमा शृङ्खलाबद्ध आक्रमण गरेपछि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले क्लोज सर्किट टेलिभिजन जडान गरेको छ । घटनाको विषयमा सुरक्षा संयन्त्रलाई जानकारी गराएलगत्तै महासङ्घले आक्रमणकारीको पहिचानका लागि सिसीटिभी जडान गरेको हो ।

भवनमा अज्ञात समूहले गरेको तोडफोड घटनाको तत्काल अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको र आन्तरिकरूपमा आक्रमणकारी पहिचानका लागि सिसी क्यामेरा जडान गरिएको शाखा अध्यक्ष दिल शिरिषले जानकारी दिए। तत्कालका लागि आठ क्यामेरा जडान गरिएको छ । भवनको बाहिरी आवरणदेखि तेस्रो तलामा रहेको हलसम्म हुने सबै क्रियाकलाप हेर्न मिल्ने गरी क्यामेरा जडान भएका छन्।

रातको समयमा कोही नभएको मौकामा निरन्तर प्रहार भएपछि विकल्प खोजिएको हो”, अध्यक्ष शिरिषले भने, “अपराधीको पहिचानका लागि क्यामेराले सहज बनाउनेछ ।” भवन वरपर सरकारी कार्यालय रहेकाले शनिबार र रातको समयमा त्यो क्षेत्र सुनसान रहने गरेको छ । अघिल्लो तीन सातायता महासङ्घको भवनमा शनिबार राति शृङ्खलाबद्धरूपमा आक्रमण भएको थियो ।

महासङ्घको निर्माणाधीन सभाहलको जिब्सन बोर्ड, फ्रेम तोडफोड गरिएको छ भने पानीको मोटर, बिजुलीको मिटरबक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्रा–टुक्रा पारिएको छ । पछिल्लो तीन सातायता तार काट्ने र भवनमा तोडफोड गर्ने कार्य निरन्तर भइरहेकाले खोज अनुसन्धानका लागि प्रहरीको ध्यानाकर्षण गराउँदै सिसीटिभी जडान गरिएको शाखाका सचिव राम थापाले बताए ।

तोडफोड क्षतिका हिसाबले ठूलो नभए पनि पटक–पटकको घटनाले सामान्य विषयको सङ्केत गर्दैन”, सचिव थापाले भने, “घटनामा संलग्नको पहिचान गरी कानूनी दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो ।” महासङ्घले भवन आसपासमा काँडेतारले तारबार गरेको छ । तर, कृषि ज्ञान केन्द्र मातहतको कृषि नर्सरीमा अहिले कर्मचारी नबस्ने भएकाले त्यसतर्फबाट महासङ्घ कार्यालय प्रवेश गर्न सहज हुनसक्ने शाखाको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज भट्टले महासङ्घ भवनमा रातिको समयमा भएको तोडफोड घटनालाई गम्भीरतापूर्वक लिएको बताए । शुरुमा सामान्य विषयको रूपमा लिएको तर प्रहरी कार्यालयको नजिकै पटक–पटक दोहोरिएको घटनाको प्रभावकारी खोज अनुसन्धानका लागि टिम परिचालन गर्ने उनको भनाइ थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved