प्रदेश १ को चौथो अधिवेशनमा दुई संशोधनसहित पाँच विधेयक पारित

  • प्रकाशित मितिः श्रावण, 20, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर / प्रदेश १ मा तीनवटा संसद अधिवेशन सकिएका छन् । चौथो तथा बजेट अधिवेशन जारी छ । चारवटा संसद् अधिवेशनको तुलना गर्दा दोस्रो अधिवेशनबाट सबैभन्दा धेरै विधेयक पारित भएका छन् । संसदको दोस्रो अधिवेशनबाट जम्मा १२ वटा विधेयक पारित भएका छन् ।  प्रदेश सरकारको पहिलो संसद् अधिवेशनबाट जम्मा ११ वटा विधेयक पारित भएका थिए । तेस्रो अधिवेशनमा एक नियमावली र विधेयक संशोधनसहित पारित भए । प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) विधेयक २०७५ र प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ पारित भए । 

तेस्रो अधिवेशनमा ६ विधेयक पारित भए । तीनवटा विधेयक समितिमा गए । समितिमा जाने विधेयकमा विधुत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भवन निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारी सम्बन्धी विधेयक छन् ।

प्रदेशसभा सचिवालयका अनुसार चौथो र बजेट अधिवेशनबाट गाउँ तथा नगरसभामा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६, प्रदेश विनियोजन विधेयक, २०७६ र प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था विधेयक २०७५ पारित भएका छन् । 

सचिवालयका अनुसार हाल दर्ता भएका विधेयकहरुको संख्या ४ वटा रहेको छ । प्रदेश नम्बर १ जाँचबुझ तथा अनुसन्धान आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक, प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ छन् । 

प्रदेश १ सरकारले तुलनात्मक रुपमा अन्य प्रदेशभन्दा बढी कानुन निर्माण गरेको छ । सभामुख प्रदिपकुमार भण्डारी आवश्यक कानुनको प्राथमिकीकरण गरी यसको निर्माणलाई जोड दिइएको बताउँछन् । 

सभामुख भण्डारीले भने,‘‘सरकार संचालनका लागि सहज हुनेदेखि अति आवश्यक कानुनलाई नै प्रदेश १ ले जोड दिएको छ ।’’ 
भण्डारीले धेरै कानुन सर्वसम्मतिमा निर्माण भएको जानकारी दिएका छन् । ९३ संसद रहेको प्रदेशसभामा नेकपाको दुई तिहाइसहितको बहुमत छ । प्रमुख विपक्षमा कांग्रेस छ । यसैगरी समाजवादी फोरम, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विपक्षी दल हुन् । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved