चिराइतो बारीमै सुक्यो

  • प्रकाशित मितिः पुष, 9, 2074
  • पहिलो किताब संवाददाता

सोलुखुम्बु/ मूल्य ओरालो लागेपछि बिक्री नभएर चिराइतो बारीमै सुक्न थालेपछि सोलुखुम्बुका किसान चिन्तित भएका छन् । राम्रै आम्दानी हुने भएपछि सोलुखुम्बुका किसान एक दशकयता चिराइतोखेतीतर्फ आकर्षित बनेका थिए ।

महाकुलुङ गाउँपालिकाका किसान यसतर्फ आकर्षित मात्र बनेन, मकै, कोदोलगायतका खेती हुने बारीमा पनि व्यावसायिक रुपमै चिराइतो खेती गरे ।

त्यसबेला उनीहरुले चिराइतोबाट मनग्य आम्दानी लिने सपना देखे, करिब पाँच वर्ष पहिला उनीहरुले देखेको सपनाअनुसार राम्रै रकम पनि लिन सफल भए । महाकुलुङ क्षेत्रको गुदेल, बुङ, छेस्कामलगायतका क्षेत्रमा चिराइतो खेती गर्ने कृषकको लहर नै चल्यो ।

शुरु शुरुमा आकर्षक मूल्य प्राप्त गरी यो खेतीमा आकर्षित भएका कृषक वर्षे्नि मूल्यमा कमी आएपछि अहिले उनीहरु चिन्तित बनेका छन् । उचित मूल्य नपाउँदा जडीबुटीका लागि महत्पूर्ण मानिने चिराइतो बारीमा नै सुक्नेक्रम बढेकोे कृषक छिरिङ शेर्पाले बताए । महत्वपूर्ण जडीबुटीका रुपमा लिइने चिराइतोको विसं २०६६–०६७ देखि किसानले व्यवसायिक खेती लगाउन शुरु गरेका थिए ।
खेतीयोग्य जमिनमा चिराइतो लगाएकोमा अहिले मूल्य नपाउँदा पुरानै खेती ठीक थियो कि जस्तो लाग्न थालेको किसानहरुको भनाइ छ ।

जंगली जनावरबाट जोगाउनु नपर्ने र जंगलको आसपासमा खेती लगाउन सकिने चिराइतोबाट किसानले वि.सं २०७० बाट आम्दानी लिन शुरु गरेका थिए । प्रतिमन रु २२ हजारका दरले बिक्री गरी एक परिवारले ३ लाख रुपैयाँसम्म वार्षिक आम्दानी लिने गरेकोे कृषक हरिधनी कुलुङले बताए ।

२०७१ सालमा १५ हजार, ०७२ मा १२ हजार रुपैयाँ प्रतिमनमा बिक्री भएको चिराइतो २०७३ मा ३ हजार २ सय रुपैयाँमा मात्र बिक्री भएको किसानहरुको भनाइ छ । उत्पादन बढी र माग कम भएपछि मूल्यमा कमी आएको हुनसक्ने किसानको अनुमान छ ।

चैत तथा वैशाख महिनामा चिराइतो खेती लगाई तीन वर्षपछि आम्दानी लिन सकिन्छ । चिराइतो खेतीलाई व्यवस्थित गरी कृषकको आम्दानी बढाउनका लागि ‘जि फाउन्डेसन’ नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोग र नवज्योति युवा मञ्च सोताङको साझेदारीमा तालीम सञ्चालन गरी किसानलाई बीउ वितरण गरिएको महाकुलुङ गाउँपालिकाको युवा मञ्चका उपाध्यक्ष जेवी कुलुङले बताए ।

भनेजस्तो मूल्य नपाएपछि किसानले गत वर्षदेखि अहिलेसम्मकै चिराइतो थन्क्याएर राखेका छन् । कतिपयले भने बारीबाट संकलनसमेत गरेका छैनन् । भण्डारणको उपयुक्त वातावरण मिलाउन प्राविधिक सीप तथा भण्डारण गर्ने ठाउँको अभावमा चिराइतो बिग्रने सम्भावना रहेको कृषकहरुले बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved