मातृका देवकोटा- सडकमा भौतारिने मनोरोगीका संरक्षक

  • प्रकाशित मितिः माघ, 3, 2074
  • गणेश लम्साल

नेपालमा मानसिक रोगीहरू ‘दिन दुई गुना रात चौगुना’ हिसाबले बढिरहेका छन् । अझ कडा खाले मानसिक रोगीहरू सडकमा भौतारिन, घर परिवार र समाजबाट अपहेलित हुन बाध्य छन् । राज्यले उनिहरूको उपचार र संरक्षणमा चासो दिएको छैन ।
मानिसले उनीहरूलाई माया स्नेह प्रदान गरेर सहयोग गर्नुको साटो बौलाहा, पागल भनेर हेला गर्ने, कुटपीट गर्ने गरेका छन् । फाट्टफुट्ट केही समाजिक संस्थाले भर्खर उनीहरूका बारे आवाज उठाउन र उद्धार गर्नुपर्छ भन्न मात्रै थाल्दैछन् । यस्तो हृदयविदारक अवस्थामा एक जना एक्ला त्यस्ता व्यक्त्ति पनि हामी बीच छन्, जसले अनेकौं जोखिम मोलेर सडकमा भौतिरिरहेका मानसिक रोगीलाई उद्धार गरी उपचार केन्द्रसम्म ल्याएर आफ्नै पहलमा उपचार गरेर समाजमा पुनःस्थापना गराइरहेका छन् ।
उनी मानसिक रोगीलाई उद्धार गरेर उपचार मात्रै गर्दैनन् राज्यबाट उपेक्षित मानसिक रोग र रोगीका बारेमा निरन्तर वकालत अभियानमा पनि सक्रिय छन् । जो पहिले आफैं मानसिक रोगी थिए र उपचार पछि आफूहरू जस्तैको उद्धार र अधिकारका लागि निरन्तर लागिपरिरहेका छन् । यहाँ हेरौं तीनै एक व्यक्तिको आत्मकथा

आफै ‘युनिपोलर‘ को बिरामी थिए
४७ वर्ष अघि गोरखाको आँपपीपल गाबिस ३ मा जन्मेका थिए मातृका देवकोटा । परिवारमा ३ भाइमा कान्छो । गाउँकै स्कुलमा पढेका । गम्भीर स्वभावका । पढाई मध्यम थियो । १५ वर्षको हुँदा उनलाई चाहिने भन्दा बढी पढ्न मन लाग्थ्यो । धेरै पढ्थे । एकदमै रिजर्भ बस्थे । अरुसँग कम बोल्थे । एसएलसी दिँदा उनलाई लेख्न एकदमै गारो भयो । तैपनि सेकेण्ड डिभिजनमा पास गरे । त्यसपछि चाहिँ उनको पढ्ने शक्ति नै हरायो । धेरै तनावमा परे । तर परिवारले उनी मनोरोगी हुन्, मानसिक रोग लागेको भनेर बुझेन । बरु दाजुहरूले वन विज्ञान अध्यन संस्थान पोखरामा फरेस्टरी पढ्न भर्ना गरिदए । तर पढाइ भन्ने बित्तिकै उनलाई थकाइ लाग्थ्यो । आँखा राता हुन्थे । सबैले धेरै पढेर आँखा रातो भएको भन्थे । उनलाई मात्र थाहा थियो उनले केही पढेकै छैन र बहाना मात्र गरेको हो भन्ने । त्यो बेला पढ्न बस्यो की उनको टाउकोमा ‘शक’ गथ्र्यो । ढाड दुख्थ्यो । ऐनामा अनुहार हेर्दा उनलाई आफैं एकदमै डर लाग्थ्यो । उनी अझै पनि मोबाइलमा सेल्फी खिच्दैनन् । र हत्तपत्त ऐना हेर्दैनन् । रोग बढेपछि उनले जाँच राम्रो दिन सकेनन् । शिक्षकहरूको सहानुभूतिले गर्दा तै जसैतसै आइएस्सी चाहिँ पास गरे । आईएस्सी गरेपछि रेन्जरको जागिर पक्का भयो । ६ महिना उनले जागिर खाए । तर काम गर्न सकेनन् । किनभने उनी बिरामी जो थिए । त्यसपछि उनी सरक्क घर फर्केर ८ वर्ष बिताए । पढेलेखेको ‘रेन्जर, साहेब भएपनि घरमा उनी रिजर्भ बस्थे । करेसाबारीमा आफ्नै पाराले काम गर्थे, घाँस काट्थे र दिनरात बिताउँथे । तर गाउँमा सबैले धेरै पढेर पनि केही गर्न सकेनन् । आमाबुवालाई सुख दिनुको साटो झन् दुःख दियो भनेर कुरा काट्ने गर्थे । लाछी भनेर होच्याउँथे । उनलाई दुःख लाथ्यो । तर चाहेर पनि केही गर्न सक्दैन थे उनी । उनलाई थाहा थियो उनी रोगी हुन् भनेर तर गाउँलेले पढेर घमण्डी भएको, बिहे नगरेर बिग्रेको, संक्रिर्ण स्वभाव भएको मान्छे आदि अनेकअनेक भनेर कुरा काट्ने गर्थे ।

मानसिक रोग हो भनेर कसैले पत्तै पाएनन
घरमा आएर बसेको ८ वर्ष बितिसकेको थियो । तर उनलाई बिरामी भनेर कसैले भनेन् पनि र उपचार गराउन कसैले लगेनन् पनि । त्यो बेला मानसिक रोगलाई बिराम नै ठानिदैन्थ्यो । बरु मानसिक रोग लागेको भनेर कसैल भन्यो भने बहुला हो भन्ने होच्याउने गरिन्थ्यो । ८ वर्षपछि कसैले उनलाई तिमीलाई मानसिक बिमार लागेको हुन सक्छ, उपचार गराउन भनेर सल्लाह दियो । त्यो बेला गोरखामा भर्खर मिसन अस्पताल खुलेको थियो । उनी त्यहाँ गए । तर उनको रोग निको भएन । उनले आफूलाई मानसिक रोग लागेको भन्ने चाहिँ बुझे । यसैले उनले काठमाडौं गएर उपचार गराउने निधो गरे ।

काठमाडौं आएर आफैंले आफ्नो उपचार
२०५५ तिर उनी काठमाडौं आए । किराना पसलमा काम गर्न थाले । साइकलमा डुलाएर समान बिक्री गर्न थाले । हिसाब मिलाउन नसक्दा धेरै गाली पनि खान्थे । तर सबै सहेर उनले आफ्नो उपचार पनि जारी राखे । वीर र पाटन अस्पताल गए तर त्यहाँको औषधीले छोएन । अन्य निजी डाक्टरकोमा पनि गए तर कुन रोग हो भनेर खुट्टिन सकेन । त्यही क्रममै उनी मानसिक रोग विशेषज्ञ विश्वबन्धु थापाकोमा पुगे अनि मात्र उनलाई औषधिले म्याच गर्यो अनि उनलाई लागेको रोग मुड लो हुने ‘युनिपोलर’ हो भन्ने पनि थाहा भयो । उनको काम र उपचार सँगसँगै चलिरहेको थियो । त्यही क्रममा उनले एक विदेशीको घरमा काम गर्ने जागिर पाए । तलब ठीकै थियो । त्यहाँ उनले मासिक १५ सय वचत गर्न भ्याए । एक बर्षपछि उनले बचत गरेको पैसा नाइट बस चढेर घर पुगेर आमाबुबाको हातमा राखिदिए । त्यो बेला उनलाई धेरै शान्ति प्राप्त भयो । त्यसपछि उनले घरमा बेलाबेला पैसा पठाउन थाले । त्यसपछि उनलाई समाजमा हेर्ने दृष्टिकोण पनि सकारात्मक बन्दै गयो । आमाबुवा पनि खुसी भए । उनको उपचार जारी नै थियो । सुधार पनि हुँदै थियो । र, उनले टुरिष्ट गाइडको काम पनि गरे । पछि दाङको मिसन अस्पतालमा जागिर खान पुगे । ६ वर्ष जागिर खाएर कमाएको पैसाले घरको ऋण सबै तिरे । बुवाआमाको उपचार पनि गराए ।

१९ वर्षपछि व्याचलरको पढाइ
२०६२ तिर उनको बुवाको मृत्यु भयो । त्यसपछि उनले जागिर पनि छाडे । आमालाई काठमाडौं ल्याएर उपचार गराउन थाले । रोगमा सुधार भएकोले १९ वर्षपछि बीए पढ्न थाले । रोग निको भएपछि उनलाई हिम्मत जुट्न थाल्यो । २०६५ मा उनले स्नातक सके । त्यत्तिबेला सम्म उनले मानसिक रोग र स्वास्थ्यबारे धेरै बुझी सकेका थिए । जागिर खाएर घरजम गर्न भन्दा आफू जस्तै रोगी र मानसिक स्वास्थ्यबारे केही गर्नुपर्छ भन्ने उनमा हुटहुटी भयो । किनभने मानसिक रोग र रोगीबारे धेरै नकारात्मक धारण समाजमा थियो र राज्य पनि पूरै उदासिन थियो । उपचार गराउन अस्पताल पनि सुलभ थिएनन् । सडकमा भौतारिने रोगीहरूको संख्या बढिरहेको थियो । उनीहरूले माया र स्नेह पाउन सकेका थिएनन्, बरु उल्टै मानिसहरूबाट यातना पाइरहेका थिए ।
त्यसपछि उनले आफू निकट सहयोगी जम्मा गरेर ‘कोशिश’ नामको समाजिक संस्था दर्ता गराए । र, सडकमा भौतारिरहेका कडा खाले मनोरोगीलाई उद्धार गरेर उपचार गराउन सुरु गरे । अहिलेसम्म उनले ‘कोशिश’ मार्फत चार सय दश (४१०) जना कडा खाले मनोरोगीलाई (देशका विभिन्न स्थानमा सडकमा अलपत्र भौतारिरहेका मनोरोगी) उद्धार गरेर उपचार गराई समाजमा पुनःस्थापना गराइसकेका छन । र, यो अभियान उनको निरन्तर जारी छ । जबसम्म उनी र ‘कोशिश’ रहन्छ तबसम्म उनको यो कार्य टुट्ने छैन यो उनी र उनको संस्थाको अठोट छ । ललितपुरको खुमलटारमा ‘कोशिश’को हेरचाह केन्द्र छ । र, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा शाखा पनि छन् ।

मानसिक रोगीका लागि निरन्तर ‘कोशीश’
‘कोशिश’ मानसिक रोग, रोगी र स्वास्थ्यबारे अधिकारको वकालतका लागि निरन्तर कोशिश गरिहन्छ । सडकमा भौतारिरहेका कडा खाले मानसिक रोगीको निशुल्क उद्धार गर्ने र उपचारपछि समाजमा पुनःस्थापना गराउने काम पनि गर्छ । मानसिक रोगी र मानसिक स्वासथ्यबारे सरकारी संयन्त्रलाई जिम्मेवार बनाउन ‘कोशिश’ सक्रिय छ । मानसिक उपचारको सेवा विस्तार र जनचेतना अभिवृद्धि गर्न ‘कोशिश’ले सके र भ्याएसम्मको कोशिस गरिररहेको छ । देशव्यापी छलफल र अन्तक्र्रिया चलाउने गरेको छ । रेडियो कार्यक्रम संचालन गराइरहेको छ । जहाँबाट र जसरी भने पनि सन्देश एउटै छ, मानसिक रोगी र उनको परिवारलाई हेलाहोचो हैन माया स्नेह र सहयोग गरौं । मानसिक रोग पापले हैन शरीरको रसायनिक प्रकृयाको गडबडीकै कारण अरू रोग जस्तै रोग हो र यो उपचार पछि निको हुन्छ । मानसिक रोग लाग्यो भनेर डराउनु पर्ने, लुक्नुपर्ने हिनभावना लिनुपर्ने कारण नै छैन किनभने यो अरू जस्तै समान्य रोग हो उपचार पछि निको हुन्छ । मानसिक रोग दैवी श्राप, बोक्सीको प्रकोपले लाग्दैन । यो रोगको उपचार नेपालमै संभव छ । उपचार महँगो हुँदैन । बिहे गरिदिँदैमा यो रोग निको हुँदैन उपचार नै गुर्नुपर्छ र धामी झाँक्रीले हैन मानोचिकित्सकले मात्र यो रोगको उपचार गर्न सक्छन् । उपचारपछि पुःन जीवन सामान्य बनाउन सकिन्छ, आदि आदि । हाल ‘कोशिश’ अझै भाडाकै घरमा छ । यसैले अब चाहिँ ‘कोशिश’ले आफ्नो उपचार केन्द्र बनाउने कोशिश पनि गरिहेको छ । नीतिहरू अध्ययन गरेर समयसापेक्ष बनाउने काम पनि गरिरहेको छ । सँगै अभियानका लागि तालिम दिने र जनचेतना जगाउने काम पनि गरिरहेको छ ।

चुनौतीलाई पनि संघर्षबाटै चिर्दै
आफैं रोगी भएपनि पछि आफ्नै बलमा उपचार गराएर आफूहरू जस्तैका लागि निरन्तर लागि परिरहेका मनोरोगीहरूको संरक्षक मातृकाले अनौठो र अनुकरणीय र उदाहरणीय काम गरेको भनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट धेरै सम्मान प्राप्त भैरहेका छन । उनलाई बेल्जियममा सन २०१३ मा मेन्टल हेल्थ अभियानकर्मी बनेको भन्दै अन्तर्राष्ट्रिय सम्मान पनि प्रदान गरियो । उनले राष्ट्रिय मानव अधिकार आयोगबाट पनि एवार्ड प्राप्त गरे । यसबाहेक अन्य धेरै निजी र सार्वजनिक संस्थाबाट पनि उनी सम्मानित भैसकेका छन । तर यति हुँदाहुँदै पनि उनलाई कसैकसैले बढी जान्ने भएको र डलर खानका लागि देखावटी काम गरेको भनेर आरोप लगाउँछन् । आम नागरिकले ‘स्यावास’ र ‘क्या बात’ भनिरहँदा पढेलेखका ‘साइक्याट्रिकहरू’ नै उनलाई हतोत्साहित बनाउन प्रयत्न गर्ने गरेको उनको अनुभव छ । सायद आरिस लागेर पनि होला भन्ने उनलाई लागेको छ । तर मानसिक स्वास्थ्यको अधिकार मनोचिकित्सकको मात्र हैन यो त आम पीडित बिरामी, परिवार र समाज सबैको बिषय हो । यो साझा समस्या हो । शिक्षक, पत्रकार, अभियानकर्मी, सरकार सबैले यसमा चासो दिनुपर्छ ।

हेरचाह केन्द्रको विस्तारमा जोड
मनोरोगी र मानसिक स्वास्थ्यको अधिकारका लागि अभियानकर्मी बनेका मातृकाले भन्दै आएका छन् — सडकमा भौतिरने सबै मनोरोगी समाजमा पुनःस्थापित हुन पनि सक्दैनन् । किनभने उनीहरूलाई परिवारले पुरै घृणा गरिसकेका हुन्छन । भौतारिएर चारचौसार पुग्ने र आफ्नो ठेगाना बताउन पनि असमर्थ भएकाले तत्काल उनीहरूका आफन्त पनि फेला पर्दैनन् । फेला परेपनि धेरैको ठेगाना परिवर्तन भइसकेको हुन्छ । पत्तो लागेमा पनि उनीहरूले जिम्मा लिन चाहँदैनन् । निको भएको हो भनेर विश्वासै गर्दैनन् । घरमा राखेर हैरानी खेप्नु भन्दा बरु मरे पनि निको भन्ने ठान्दछन् । यसैले समाजमा पुनःस्थापना नएका कडा खाले मानसिक रोगीका लागि सरकारले अलग्गै हेरचाह केन्द्र स्थापना गरेर संचालन गर्न आवश्यक छ । यसमा केन्द्रदेखि स्थानीय तहसम्मका सरकार सचेत हुन आवश्यक छ । कम्तीमा हरेक प्रदेशमा एउटा हेरचाह केन्द्र स्थापना गरिनुपर्छ । किनभने सडकमा भौतारिएका मनोरोगीको उपचार निश्चित समयसम्म अस्पतालमा हुन्छ । उपचारपछि अस्पतालले डिस्चार्ज गर्नैपर्छ । अस्पताल उपचार गराउने मात्र हेन्द्र हो संरक्षण गर्ने केन्द्र होइन । डिस्चार्ज भएपछि निको भएकालाई समाजमा पुनःस्थापना गराउनका लागि लामो सयम लाग्न सक्छ यसैले संरक्षण केन्द्रमा राखेर उनीहरूको अभिभावक खोजी गर्न सहयोग पुग्छ । जसका आफन्त फेला पर्दैनन् उनिहरूलाई पनि त राज्यमा बाँच्न पाउने हक छ । आखिर उनिहरू पनि त देशका नागरिक हुन । यसैले हेरचाह केन्द्र भए उनीहरूको जीवनयापन सहज हुन सक्छ ।

अधिकारका लागि निरन्तर कोशिश
कडा खाले मानसिक रोगीहरू आफैं आफ्नो अधिकारबारे आवाज उठाउन सक्दैनन् । यसैले सबैले मिलेर उनीहरूको अधिकारका लागि संरक्षणको आवाजलाई बुलन्द बनाउन आवश्यक छ । जबसम्म बुलन्द रूपमा आवाज उठ्दैन तबसम्म नेपालमा मानसिक रोगीको उद्धार र हेरचाहबारे सरकार गम्भीर हुँदैन । अनि मानसिक स्वास्थ्य उपचारबारे पनि राज्य सचेत बन्दैन । अन्य बिरामीका बारे नेपालमै धेरै अध्यन अनुसन्धान, जनशक्त्ति र भौतिक पूर्वाधारमा लगानी भएपनि मानसिक स्वास्थ्यको क्षेत्रमा लागानी न्यून छ । यसैले सरकारले यो क्षेत्रमा बजेट बढाउन आवश्यक छ । नत्र देशको ठूलो जनशक्ति मनोरोगी बनेर बेकार मात्र जाँदैन सिंगो समाजलाई नै रोगी बनाउन सक्ने जोखिम बढिरहेको छ । यसैले त हो अन्धविश्वास, असहयोगको भावना, सकारात्मक सोचको कमी, राज्यको उदासिनता आदि अनेक समस्या र चुनौती भएपनि ‘कोशिश’ले आफ्नो अभियान जारी राख्ने निरन्तर कोशिश गरिरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved