रंगेलीमा घर भत्काउँदै, मुआब्जा माग्दै

  • प्रकाशित मितिः भदौ, 24, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर/ हुलाकी राजमार्ग विस्तारका लागि रंगेलीको बजार क्षेत्रमा अहिले धमाधम घरहरु भत्काउने काम भईरहेको छ ।
स्थानीयले आफैं सडक सिमा खाली गर्ने काम गरिरहेका छन् । रंगेली नगरपालिकासँग तिहार र छैठसम्म पर्खिदिन माग गरेका उनीहरुले आफ्नो योजना अनुसार घर भत्काउने र नयाँ बनाउने काममा जुटिरहेका छन् ।
तर, हुलाकी राजमार्ग विस्तारका लागि विराटनगर–झापाको ८० किलोमिटरदुरीको ठेक्का लागेको सुँईको पाएपछि मुआब्जा दिनुपर्ने मागलाई पनि अगाडी सारेका छन् । राजमार्ग विस्तारका लागि सडक सिमा खालि गरिदिन स्थानीय तहले समन्वय गर्नुपर्ने र खाली गराउनुपर्ने हुन्छ ।
रंगेलीमा नेपाली काँग्रेसले भने त्यहाँका मेयरलाई असहयोग गर्ने योजनासहित केहि स्थानीयलाई भ्रममा पार्न थालेको हो । यतिसम्मकी सडक सिमा खाली गर्न थालिसकेकाहरु पनि अहिले राज्यले मुआब्जा दिनुपर्ने माग गर्न थालेका छन् ।
बजार क्षेत्रका केहि व्यक्तिले सडक सिमामा पर्ने जमिनको पनि स्वामित्व दावी गर्दै मुआब्जा र क्षतिपूर्तिको माग गरेका हुन् ।
स्थानीयले मुआब्जा दावी गरेको जमिन, २० वर्ष अगाडी नै सडक सिमा क्षेत्र कायम भईसकेको छ । स्थानीय मंगलचन्द अग्रवालले आफ्नो १७ धुर क्षेत्रफलमा बनेको घर र जमिन सडकले लिने भएपछि मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने माग सोमबार पत्रकार सम्मेलनमा गरे । उनले आफु सुकुम्वासी हुने भन्दै क्षतिपूर्ति दिनुपर्ने भएपनि नगरपालिकाका मेयर दिलिप बगडियाले सहजीकरण नगरेको आरोप लगाए ।
वि.सं. २०३४ साल असार २० गते सहायक राजमार्ग कायमको निर्णय गरिएको सडकको मापदण्ड ३० मिटर तोकिएको छ । राजपत्रमा प्रकाशित भएको उक्त मापदण्ड २०४७ सालमा नापी आउँदा स्थानीयले व्यक्तिको नाममा कायम गराइएको थियो । तर, सडक सीमाको जमिन व्यक्तिको नाममा लगिएको भन्दै सर्वोच्च अदालतमा खारेजीको माग गर्दै रिट दायर भएको थियो । सर्वोच्चले सडकको जमिन व्यक्तिको नाममा नराख्न आदेश गरेको थियो ।
सर्वोच्चको यहि आदेश अनुसार २०५५÷२०५६ मा खटिएको घरदैलो नापी सर्वेक्षणमा सडक सीमा प्राप्ती कायम गरिएको थियो । नापी हालसाविसहित स्थानीयको मन्जुरिनामा लिएर व्यक्तिलाई पूर्जा समेत उपलब्ध गराइएको थियो ।
रंगेली नगरपालिकाको ४, ६, ७ र ८ नम्बर वडा हुँदै झापाको गौरगञ्जसँग हुलाकी सडक जाोडिन्छ । त्यस क्षेत्रमा रहेका स्थानीयले १६५ बिघा जमिन हुलाकी राजमार्गलाई खालि गराउनुपर्ने देखाउँदै मुआब्जाको माग गरेका हुन् । तर, यो माग अगाडी सार्ने भने १५ जना पनि छैनन् ।
विराटनगर देवकोटाचौकदेखि झापासम्मको ८० किलोमिटर दुरी निर्माणका लागि ठेक्का स्वीकृत भईसकेको छ । हुलाकी राजमार्गले झापा, मोरङ र सुनसरीमा १०६ किलोमिटर दुरी समेट्छ ।
रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडिया नचाहिने राजनीतिमा लागेकासँग प्रभावित बन्न नसकिने बताउँछन् । उनले भने–आफैंले स्वीकृति लिईसकेको जमिनको मुआब्जा राज्यसँग माग्न पाइन्छ ।
विकासमा अवरोध गर्ने मनसायले अहिले रंगेली क्षेत्रको ४.५ किलोमिटर दुरी भित्रका केहि स्थानीयले अनावश्यक हल्ला चलाएको मेयर बगडियाको आरोप छ । उनले भने मेरो दुईवटा घर भत्कँदैछ, राज्यले मुआब्जा दिने भए फाइदा छ, तर कानुनले दिनुपर्ने भन्दैन, मैले माग्ने कुरा रहेन ।
रङ्गेलीका स्थानीय राजनीतिकर्मी तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य रामनारायण मण्डल राज्यले व्यक्तिको सम्पति त्यतिकै लिन नपाउने बताउँछन् । उनका अनुसार २०२४ सालदेखि बसोबास गर्दै आएका व्यक्तिलाई विस्थापित गर्न विकल्प दिनुपर्दछ, नत्र काँग्रेस आन्दोलनमा उत्रन्छ । तर, २०२४ सालमा रंगेली क्षेत्रको जमिन नापी भएको थिएन ।
हुलाकी राजमार्ग विस्तारका लागि सडक सीमा १४० फिट तोकिएको छ । मुआब्जाको माग गर्दै आएका स्थानीय ६५ फिट दिने बताएका छन् । त्यो चौडाई अहिलेकै सडकमा कायम छ ।
रंगेली बजार क्षेत्रका धेरैजसो घर आफैं तोडेर नयाँ बनाउने काम गरिदैं आएको छ । मेयर बगडियाका अनुसार केहि व्यक्तिको निहीत स्वार्थका कारण विरोध गर्दै घर सार्दै गर्दा केहि लाभ लिनसक्ने मनसाय देखिन्छ । घर अगाडी चिल्लो सडक आवश्यक पर्नेहरुले नै विरोध गरिरहेको उनको तर्क छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved