रामकुमारी सोध्छिन्, इटहरीवासी ...गुण्डा छान्ने कि नेता ?

  • प्रकाशित मितिः मंसिर, 18, 2074
  • पहिलो किताब संवाददाता

इटहरी/ वाम गठबन्धनले सुनसरी–२ को इटहरीमा सोमबार आयोजना गरेको अन्तिम चुनावी सभामा योगेश भट्टराई र पासाङ शेर्पालगायतका नेता सहभागी बनेपनि सभाको मुख्य आकर्षण भने चोटिलो भाषणका कारण माओवादी केन्द्रकी नेतृ रामकुमारी चौधरी बनिन् ।

पूर्व सभासद एवं यो पटककी समानुपातिक उमेदवारसमेत रहेकी चौधरी मञ्चमा गर्जिन थालेपछि अन्य नेता ओझेलमा परे । चौधरीले इटहरीवासीलाई कांग्रेसले आपराधिक र गुण्डागर्दी पृष्ठभूमिका हेमकर्ण पौडेललाई उमेदवार बनाएर घात गरेको भन्दै वाम गठबन्धनका उमेदवारलाई विजय गराउन अपिल गरिन ।

उनले कांग्रेसबाट प्रदेशसभामा उमेदवार बनेका पौडेल कानुनी रूपमा अपराध र गुण्डागर्दीमा संलग्न रहेको जिकिर गर्दै भनिन् ‘जिल्ला अदालत र पुनरावेदन अदालतबाट दोषी ठहर भएको व्यक्ति नै चुनावमा उमेदवार बनाइएको छ , त्यस्तालाई मत दिएर सरकारमा पठाउने हैन उनीहरूलाई जेल पठाउने हो ।’

चौधरीले हेमकर्ण गुण्डागर्दी र उच्छृङखल गतिविधिमा संलग्न विवादित पात्र रहेकोमा सबै जानकार रहेको बताउँदै भनिन– ‘मलाई हेमकर्ण भन्ने कोही नेता थाहा छैन, अपराध गरेर सजाय पाएको हेमकर्ण र अपराधकै कारण हतकडीसहित प्रहरीले बजार घुमाएका हेमकर्ण मात्रै थाहा छ ।’

भाडाका मान्छे लिएर हिँड्ने अनि युवा पुस्तालाई भेला पारेर ग्याङ बनाउँदै पैसा असुल्ने हेमकर्णको इतिहास जनतालाई थाहा भएको भन्दै रामकुमारीले हेमकर्णलाई भोट हालेर मतदानकै उपहास नगर्न मंचबाटै आह्वान गरिन् ।

सुनसरीमा कांग्रेसबाट उमेदवार बनेकाहरूको पृष्ठभुमि राम्रो नभएको जिकिर गर्दै वाम गठबन्धनका उमेदवार हराउन सत्तामा रहेर चुनाव लडिरहेकाले शक्तिको दूरुपयोग गर्न सक्ने जोखिम रहेको बताउँदै चनाखो रहन कार्यकर्तालाई निर्देशन पनि दिइन् । उनले कन्यादान र मतदान दुवै महत्वपूर्ण रहेको बताउँदै भनिन्, ‘मतदान गर्नुअघि उमेदवार र कन्यादान गर्नु अघि केटोको विगत, वर्तमान र पृष्ठभूमि केलाएर मात्रै निर्णय गर्नु बुद्धिमानी हुन्छ ।’

किमाथाङका जोगबनी त्रिदेशीय ट्रान्जिट

सभालाई सम्बोधन गर्दै एमाले नेता योगेश भट्टराईले इटहरीलाई किमाथाङका जोगबनी सडक जोडेर त्रिदेशीय ट्रान्जिट बनाउने घोषणा गरेका छन् । उनले इटहरीवासीले इटहरीलाई राजधानी बनाउने हो भने वाम गठवन्धनका उमेदवारले जित्नै पर्ने बताए । उनले भने, ‘राजधानी प्रदेशसभाले तोक्ने हो एक नम्बर प्रदेशमा वाम गठवन्धनको सरकार बन्दैछ, त्यही भएर इटहरीवासीले वामपन्थी उमेदवारलाई जिताएर राजधानीको पहल थाल्नु पर्छ ।

सुनसरीमा वामपन्थी उमेदवारलाई हराउन कांग्रेस उमेदवारले प्रशासन र कर्मचारीको दुरुपयोग गर्न सक्ने आफूले रिपोर्ट पाएको बताउँदै नेता भट्राईले त्यस्ता प्रशासक, कर्मचारी र सुरक्षाकर्मीको सूची बनाउन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘त्यसरी वामपन्थी हराउन परिचालित हुनेको सूची बनाउनुस् हाम्रो सरकार बनेपछि छानीछानी कारवाही गरिन्छ । सूची मात्रै बनाउने हैन त्यस्तो भेटिए डटेर माओवादी र एमालेको युवापंक्तीले प्रतिकार गर्नुपर्छ ।’

सभामा प्रतिनिधिसभा उमेदवार माओवादी केन्द्रका डम्बर सुवेदी, प्रदेश सभा उमेदवार सर्वध्वज साँवा, सुनसरी–३ की प्रतिनिधिसभा उमेदवार भगवती चौधरीलगायतले बोल्दै इटहरीलाई प्रदेशको राजधानी वनाउनेलगायतका प्रतिवद्धता व्यक्त गरेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved