सेवाग्राही ठग्न फार्मेसी सञ्चालक र एम्बुलेन्स चालकलाई प्रवेश निषेध

  • प्रकाशित मितिः असार, 24, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर / नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरमा ‘बाउन्सर’ आतंक सुरु गरिएको छ । सेवाग्राहीमाथि ब्रम्हलुट मच्चाउन बाहिरका औषधी व्यवसायी र एम्बुलेन्स चालकलाई प्रवेश निषेध गर्न ‘बायन्सर’ आतंक सुरु गरिएको हो ।

हातमा ट्याटु कोरेका खतरनाक जस्ता देखिने युवाहरुलाई प्रवेशद्वारमा राखेर बाहिरका फार्मेसी सञ्चालक र एम्बुलेन्स चालक भित्र प्रवेश गरेर गलहत्याउन निर्देशन अस्पताल प्रशासनले गरेको छ । अस्पताल भित्रबाट विरामी तथा सेवाग्राहीले औषधी खरिद गर्नुपर्ने नियम लगाउँदै अस्पताल प्रशासनले बाउन्सर राखेर एम्बुलेन्सका चालक र बाहिरका औषधी व्यवसायीमाथि हातपात समेत सुरु गरेको छ ।

सोमबार राती भित्रबाट आएको एउटा समुहले प्रियबन्धु फार्मेसीका सञ्चालक राजकुमार यादवमाथि निर्घात कुटपिट समेत गरिएको छ । आन्तरिक प्रणालीबाट मात्रै सेवाग्राहीले औषधी लिनुपर्ने बाध्यकारी नियमसँगै औषधीको मुल्य समेत बृद्धि गरिएको छ । नोबेल परिसरमा चारवटा औषधी पसल सञ्चालनमा रहेका छन् । जसमध्ये सु–स्वास्थ्य फार्मेसीले बोलपत्रमार्फत अस्पतालका विरामीलाई औषधी आपूर्ति गर्दै आएको छ ।

नोबेलको बाहिरी परिसरमा रहेका ३४ औषधी पसलमा सेवाग्राही औषधी खरिद गरेर उपभोग गर्ननसक्ने भन्दै प्रशासनले सार्वजानिक सुचना जारि समेत गरेको छ । प्रशासकिय अधिकृत दिपेश राईले बाहिरका फार्मेसी र एम्बुलेन्स चालकका लागि अस्पताल भित्र प्रवेश गर्ने अनुमति नभएको व्यहोराको सुचना जारि गर्नु भएको हो ।

अस्पताल प्रशासनको यो सुचनासँगै बाहिरका फार्मेसी सञ्चालक र विरामी बोकेर अस्पताल आएका एम्बुलेन्स चालक भित्र प्रवेश गर्न सक्दैनन् । उनीहरुलाई रोक्न अस्तालले ‘बाउन्सर’ राखेको औषधी व्यवसायी सुनिल साहको गुनासो छ ।

अस्पताल हाता भित्रको औषधि पसलले बिरामीलाई बढी मुल्य लिएर औषधी बिक्री गर्दै आएको छ । विरामीले बाहिरका औषधी पसलमा गएर मुल्य सोध्ने र बुझ्ने भएपछि सम्बन्धित क्षेत्रका जानकारलाई प्रतिबन्ध लगाइएको छ ।

गत असार १६ गतेदेखि लगाइएको यो नियमले सेवाग्राहीले तीन हजार रुपिँया पर्ने ‘डीजे गार्ड’ ९ हजार ५ सय रुपिँयामा खरिद गर्दै आएका छन् । मृगौलामा पथरी भएका विरामीको अप्रेशनपछि लगाउनु पर्ने सामान्य पाइपको मुल्य यति धेरै लिएर सेवाग्राहीमाथि ब्रम्हलुट मच्चाउन थालिएको छ ।

सेवाग्राहीले बाहिरबाट औषधी खरिद गरेर भित्र लान समेत नपाउने र त्यो औषधी प्रयोगमा ल्याउन नमानेका कारण अस्पताल प्रशासन र बाहिरका फार्मेसी सञ्चालकबीचको दुरी समेत निक्कै बढ्दै गएको छ । अस्पतालले फार्मेसी सञ्चालक र एम्बुलेन्स चालकलाई भित्र प्रवेश गर्दा हातपात गर्दै बाहिर निकालिदिने गरेको रामसुनिल साहको भनाई छ ।

सोमबार राती भित्रका बाउन्सरले प्रियबन्धु फार्मेसीका सञ्चालक राजकुमार यादवमाथि कुटपिट समेत गरेका छन् । अस्पतालले राखेका बाउन्सर सागर कोइरालासहितको समुहले यादवमाथि आक्रमण गर्दा गहिरो चोट समेत लागेको थियो ।

मोरङ प्रहरीको नियन्त्रणमा रहेका कोइराला विरुद्ध फार्मेसीका सञ्चालकले कुटपिट तथा दुव्र्यहार गरेको आरोपमा उजुरी दिइएको प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पताल परिसरमा सु–स्वास्थ्य फार्मेसी सञ्चालन गर्दै आउनु भएका अनिल चौधरीले भने आफूले कुनै फार्मेसीलाई भित्र प्रवेश गर्नमा रोक नलगाएको दावी गर्नुभयो । चौधरीले अस्पताल प्रशासनले लगाएको निमयसँग आफूलाई चासो नरहेको बताउनुभयो ।

तर, कुटपिटबाट घाइते हुनु भएका यादव भने चौधरीको फार्मेसीमा काम गर्ने समुहले आफूमाथि आक्रमण गरेको बताउनुहुन्छ । टाउकोमा गहिरो चोट लागेका यादवमाथि पसलमै बसिरहेको बेला आक्रमण गरिएको थियो ।

नोबेल मेडिकल कलेजका जनसम्पर्क तथा सुचना अधिकृत रविन कट्टेलले भने फार्मेसीबीचको विवाद अस्पतालसँग सरोकार नभएको विषय रहेको बताउनुभयो । बाहिरका औषधी पसलमा विरामी ठगिएको गुनासो आएपछि अस्पतालले उनीहरुलाई निषेध गरेको कट्टेलको दावी छ ।

बाहिरका फार्मेसी सञ्चालक बिचौलियाको भूमिकामा रहेका कारण अस्पतालले रोक्नुपर्ने अवस्था आएको दावी गरिएको छ । अस्पतालमा आएका बिरामीलाई सेवाको नाममा मनपरी शुल्क लिने र छुट गराउने नाममा बिचौलियाको काम गर्ने गरेको अस्पताल प्रशासनको आरोप छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved