काठमाडौँका जनता उठेपछि शक्तिले रोक्न सक्दैनः प्रधान

  • प्रकाशित मितिः जेठ, 30, 2076
  • पहिलो किताब संवाददाता

काठमाडाैँ/ प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म संस्कृति विरोधी भएकाले गुठी विधेयक फिर्ता लिन माग गरेको छ ।

सभामुख कृष्णबहादुर महराले बैठकको कारवाही शुरु गर्ने बित्तिकै कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले उठेर विरोध जनाएका थिए ।

सभामुख महराले सांसद भीमसेनदास प्रधानलाई बोल्ने समय दिएपछि उनले सो विधेयक फिर्ता लिन माग गरेका हुन् ।

सांसद प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली विश्व श्रम सङ्गठन (आइएलओ) को सम्मेलनमा हालै भाग लिएको उल्लेख गर्दै सन् १९९१ मा सङ्गठनको सम्मेलनले आदिवासी जनजातिको धर्म संस्कृतिका लागि गुठीको संरक्षण गरिनुपर्ने व्यवस्था पारित गरेको स्मरण गराउँदै गुठी विधेयक तत्काल फिर्ता लिन माग गरे ।

“काठमाडौँको भाषा, धर्म, संस्कृति र सम्पदाले विश्वमा चिनाएको तर अहिले सरकारले त्यसैमाथि धावा बोलेको छ, सरोकार भएकासँग छलफल नगरी गुठी विधेयक ल्याइएको छ, विधेयकबारे शान्तिपूर्ण प्रदर्शन गर्नेमाथि गरिएको दमनमा संलग्नलाई कानूनी कारवाही होस्, काठमाडौँवासी आन्दोलनमा उत्रिएपछि कसैले रोक्न सक्दैन, सरकार ढल्ने चिन्ता होइन सङ्घीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्न सक्छ”, उनले भने ।

विसं २०६२/६३ को आन्दोलनको एजेण्डा राजा फाल्ने नभए पनि काठमाडौँका जनता उठेपछि फालिएको बताउँदै सांसद प्रधानले बेलैमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

पृथ्वीनारायण शाहले उपत्यकामाथि विजयी गरे पनि यहाँको संस्कृतिमाथि धावा नबोलेकाले २४० वर्षसम्म शाह राजाको शासन सम्भव भएको उनले उल्लेख गरे ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved