पाटन दरबारमा बिचौलियाको रजाइँ

  • प्रकाशित मितिः जेठ, 28, 2076
  • पहिलो किताब संवाददाता

ललितपुर (कान्तिपुर दैनिकवाट ) ललितपुरको मुख्य व्यापारिक केन्द्र पाटन दरबार क्षेत्रमा रहेको पसल कवलमा बिचौलियाको राज छ । गुठी संस्थानको स्वामित्वमा रहेका ४ वटा पसल कवल गोदावरीका एक व्यक्तिले एक दशकदेखि भाडामा सञ्चालन गरिरहेका छन् ।

उनले भाडा भने संस्थानलाई तिर्दैनन् । प्रत्येक महिना बिचौलियालाई बुझाउँछन् । उनले धेरैपटक संस्थानसँग सिधै सम्झौता गरेर भाडामा लिन खोजे । तर, संस्थानकाकर्मचारीले उनको प्रस्ताव सुनेनन् ।

उनी भन्छन्, ‘४ वटा पसल कवल भाडामा लिएबापत् बिचौलियालाई मासिक ४० हजार रुपैयाँ तिर्नुपर्छ । तर, बिचौलियाले भने संस्थानलाई १० रुपैयाँ पनि बुझाउँदैनन् ।’ उनले बिचौलिया र कर्मचारीको मिलेमतोमा राज्यलाई घाटा भइरहेको आरोप लगाए । ‘राज्यका माथिल्लो निकायमा बस्दै आइरहेकाहरूले यसबारेमासत्यतथ्य छानबिन गर्नुपर्‍यो,’ उनले भने ।
पाटनका अर्का एक व्यक्तिले पनि दरबार क्षेत्रमा ३ वटा पसल कवल सञ्चालन गरेबापत् बिचौलियालाई मासिक ३० हजार रुपैयाँ बुझाउँदै आइरहेका छन् । उनीहरूजस्तै दरबार क्षेत्रमा पसल कवल भाडामा लिएबापत् बिचौलियलाई मासिक १० देखि ५० हजार रुपैयाँ बुझाउने थुप्रै छन् ।
बिचौलियाले भने गुठी संस्थान ललितपुर शाखा कार्यालयलाई भने मासिक १ सय रुपैयाँ पनि बुझाउँदैन । बिचौलियाले भाडामा लगाएर वर्षौंदेखि अस्वाभाविक रूपमा मुनाफा कमाउँदै आएको बारेमा संस्थानलाई जानकारी छ । संस्थानको लगतमा पनि बहालवालामध्ये धेरैजसोले आफूले लिएको पसल कवल अरूलाई बढी रकममा भाडामा दिएको कुरा उल्लेख छ । तर पनि संस्थानका कर्मचारी भने मौन छन् ।
नयाँ आर्थिक वर्ष सुरु हुन लागेसँगै बिचौलियले भाडा बढाउन थालेपछि बहालमा बस्नेहरू थप मर्कामा परेको उनीहरूको गुनासो छ । बहालमा बस्ने एक व्यक्तिका अनुसार संस्थान र बिचौलियाबीचको मिलेमतोका कारणले सरकारलाई अत्यन्त कम राजस्व भित्रिने गरेको छ । ‘बिचौलियाले प्रतिस्क्वयार फिट १ सयदेखि डेढ सय रुपैयाँका दरले भाडा लिने गरेका छन्,’ ती व्यक्तिले भने, ‘तर, सरकारलाई भने मासिक दस रुपैयाँ पनि तिर्दैनन् ।’
दरबार क्षेत्रमा संस्थानको स्वामित्वमा ५६ वटा पसल कवल छन् । यीमध्ये अधिकांशले अरूसँग बढी भाडा लिएर सञ्चालन गर्न दिँदै आइरहेका छन् । ५१ जनाले भने संस्थानसँग भएको सम्झौताअनुसार वर्षौंदेखि भाडा बुझाएका छैनन् । संस्थानका अनुसार २०५४ सम्ममा पाँच जनाले मात्र संस्थानसँग सम्झौता गरेका छन् ।
संस्थानको लागतमा उल्लेख भएअनुसार एउटा पसल कवलको भाडा वार्षिक १ सयदेखि एक हजार ८ सय २८ रुपैयाँ मात्र छ । संस्थानले वर्षौंदेखि वार्षिक एक सय, २ सय ५०, तीन सय, पाँच सय रुपैयाँमा ५६ वटा कवल भाडामा दिइरहेको छ । अत्यन्त न्युन भाडा भए पनि बहालवालाहरूले संस्थानलाई भाडानबुझाएको १० वर्ष बितिसकेको छ ।
गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख शैलेन्द्र पौडेलले बहालवालालाई भाडा बुझाउन, नयाँ सम्झौता गर्न वर्षौंदेखि पटकपटक लिखित तथा मौखिक ताकेता गरे पनि अटेर गरेको बताए । ‘अझै पनि बहालवालालाई सम्पर्कमा आउन आहृवान गर्छु,’ उनले भने, ‘नयाँ व्यक्तिसँग नयाँ सम्झौता गर्न तयारी भइरहेको छ ।’ कानुनी प्रावधानअनुसार सम्झौता अवधि सकिइसकेकाले संस्थानले एकतर्फी रूपमा ठेक्का रद्द गर्न सक्छ ।
तर, संस्थानले सम्झौता रद्द गरी चलनचल्तीको भाडा उठाउनेतर्फ कुनै प्रक्रिया सुरु गरेको छैन । संस्थानले सार्वजनिक सूचना प्रकाशित गरी लिलाम बढाबढमा आफ्ना पसल कबल भाडामा लगाउन सक्छ । यस्ता कुनै कदम नचाली संस्थान टुलुटुल हेरेर बसेका आरोप छ । पसल कवलहरू दरबारको ठूला घण्टामुनि, हरिशंकर मन्दिर र मंगलबजार चारदोबाटो चोक वरिपरि छन् ।
नेपाल भाषामा मंगलबजार क्षेत्रका पसल कवलहरूलाई ‘देखःपसः’ भनिन्छ । देखः पसः मा अन्य स्थानमा हत्तपत्त नपाइने जडिबुटी, आयुर्वेदिक र नेपाली औषधि बिक्रीवितरण हुन्छ । संस्थानको लगतअनुसार पसल कवल भाडामा लिनेहरू पाटन तः झ्याः टोल, पूर्णचण्डी, हौगल, भीमसेनस्थान, मत्स्येन्द्रबहाल, मंगलबजार, सौगल, कुपण्डोल, च्यासल, सुन्धारा, ञाछेँलगायत स्थानका छन् । संस्थानले बहालवालाबाट १७ लाख ९६ हजार ४ सय ६३ भन्दा बढी रुपैयाँ असुल गर्न बाँकी छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved