मल घोटाला काण्ड– ‘करोडौंको घोटाला हुँदापनि सरकार बेखबर बन्नु दुर्भाग्य’

  • प्रकाशित मितिः जेठ, 2, 2076
  • पहिलो किताब संवाददाता

 काठमाडौं / द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरी घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो गुनासो पोखेको हो । संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखिनै आवाज उठाएको तर सम्बन्धित सरोकारवाला निकायहरुले अहिलेसम्म यसबारेमा कुनै कारबाही नगरेकोमा आक्रोश पोख्नुभयो ।

महराले आफूहरुले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिहरुले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘ममाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण नै भयो । तर, अहिलेसम्म यसबारेमा सरकारले केही कदम चालेन् । म कहाँ–कहाँ जान्छु ? भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ, उनीहरु मेरो पिछा गरेर हिँडिरहेका छन् । अहिलेपनि मेरो ज्यानमाथि असुरक्षा छ ।’

त्यस्तै, उहाँले आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार दर्जनौं साथीहरु अहिलेपनि पीडामा छन् । उहाँले भन्नुभयो, ‘नयाँ व्यवसायी साथीहरुलाई आफ्नो साथमा लिएर मलमा घोटाला गर्ने गुण्डाहरु हिँडिरहेका छन् ।’ महराले मलमा देखिएको घोटालाबारे सञ्चयकोष बेखवरजस्तै बनेको पनि आरोप लगाउनुभयो ।

उहाँले अघि थप्नुभयो, ‘अब जतिसक्दो चाँडो सञ्चय कोषले नयाँ वैज्ञानिक भाडादर कायम गरेर एग्रिमेन्ट गरिदिनुपर्छ । हामीले कम्तिमा पनि तीनदेखि पाँच वर्षसम्मको लागि सम्झौता कायम गर्नुपर्ने माग गर्दै आएका छौं ।’ नयाँ टेण्डर खोल्दापनि वैज्ञानिक भाडादर कायम गरिनुपर्ने उनको माग छ ।

आफूले सुरुवातदेखि नै घोटालाबारे बोल्दै आएको सुनाउँदै उनले आफूलाई ती घोटालामा संलग्न व्यक्तिहरुले एक दिने ज्यान मार्नेसम्मको खुलासा गर्नुभयो । उहाँले थप्नुभयो, ‘मैले बोलेपनि/नबोलेपनि मलाई ती गुण्डाहरुले मारिहाल्छन् । तर, म नबोलेर मर्नुभन्दापनि बोलेर मर्न चाहन्छु । सायद आजको पत्रकार सम्मेलन मेरो अन्तिम पत्रकार सम्मेलनपनि हुनसक्छ ।’

कार्यक्रममा संघका सल्लाहकार उज्वलजंग शाहले पनि मलमा भएको विसंगतिका बारेमा बोल्दा उल्टै आफूहरुलाई भौतिक रुपमै आक्रमण भएकोमा दुःखेसो पोख्नुभयो । आफूहरुले घोटालाबारे प्रमाणसहित सत्य कुरा बाहिर ल्याउँदा पनि सरोकारवाला निकायले कुनै चासो नदेखाएको पनि उहाँले गम्भीर आरोप लगाउनुभयो ।

उहाँले आफूहरुमाथि भौतिक आक्रमण भएको आज महिना दिन बित्न लाग्दापनि अहिलेसम्म सरकारले आक्रमणमा संलग्न व्यक्तिहरुलाई कुनै कारबाही नगरेकोमा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयोे ,‘हामीमाथि आक्रमण गर्नेहरु अहिलेपनि खुलेआम हिँडिरहेका छन् । तीनीहरुले अहिलेपनि हामीलाई फोनबाट ज्यान मार्ने धम्की दिईरहेका छन् । हाम्रो ज्यान असुरक्षित छ ।’

आफूहरुले आक्रमणलगत्तै किटानी जाहेरीको लागि प्रहरी प्रशासन धाउँदासमेत कुनै सुनुवाई र सहयोग नभएको पनि उहाँले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले कानूनी राज्यको उपहास भएको छ । हामीमाथि आक्रमण गर्नेहरुको नाम नै किटान गरेर उजुरी दिन जाँदासमेत प्रहरी प्रशासनले किटानी लिएन ।’

कार्यक्रममा मलमा व्यवसाय गर्दै आउनुभएकी अजिता सिटौलाले आफूहरुले मलमा भएको अनियमितताको बारेमा बोल्दा उल्टै धम्की खाइरहेको सुनाउनुभयो । उहाँले सरकारले मलमा भएको आर्थिक घोटालाबारे यथाशिघ्र छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र मलमा व्यवसाय गर्नेहरुलाई आगामी दिनमा पनि व्यवसायलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा मलमा व्यवसाय गर्दै आउनुभएकी संघकी सदस्य अनिता बुढाथोकीले पनि मलमा भएको घोटालाबारे बोल्दा उल्टै ज्यान मार्न खोज्नु कानूनी राज्यको धज्जी उडाउने काम भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘व्यापार व्यवसाय गरिसकेपछि हिसबकिताब सबै क्लियर हुनुपर्छ । हिसाब माग्नेले मागेपछि अरुले दिनुपर्छ ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved