सामुदायिकमा भर्ना पाउनै मुस्किल

  • प्रकाशित मितिः बैशाख , 13, 2076
  • पहिलो किताब संवाददाता

सुर्खेत / वीरेन्द्रनगरको जननमुना विद्यालयले यसवर्ष ४ सय विद्यार्थीका लागि भर्ना खोलेको थियो । आवेदन पर्‍यो १ हजार ७ सयको । उत्कृष्ट नतिजाका कारण बर्सेनि विद्यार्थीको चाप बढ्दै गएपछि यो सामुदायिक विद्यालयमा यस वर्ष ४६ वटा सेक्सन बनाइएको छ । यहाँ हरेक वर्ष प्रवेश परीक्षापछि मात्र भर्ना लिइने गरिएको छ ।

वीरेन्द्रनगरकै अमरज्योति माध्यमिक विद्यालयमा भर्ना अभियान चलिरहेकै बेला प्रधानाध्यापक र वडा सदस्यबीच हातपातको प्रयास भयो । प्रधानाध्यापक खगेन्द्र थापामाथि वडा १२ का सदस्य रामकुमार दर्लामीले हातपात गर्ने प्रयास गरेका थिए । कारण थियो, ‘विद्यालयमा उनका आफन्तले भर्ना नपाउनु ।’जिल्लामा यीसहित श्रीकृष्ण संस्कृत तथा साधारण म.वि. गुणस्तरीय शिक्षामा अब्बल सामुदायिक विद्यालय मानिन्छन् । तीनवटै विद्यालयमा भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, शान्त वातावरण, उत्कृष्ट नतिजालगायत कारण विद्यार्थी भर्ना गराउन अभिभावकको प्रतिस्पर्धा हुने गरेको छ ।

अमरज्योतिका प्रधानाध्यापक थापाले विद्यालयमा चाहिने कोटाभन्दा बढी भर्ना गर्न नसकिने बताएपछि जनप्रतिनिधिसँग विवाद भएको थियो । उनका अनुसार कक्षा १ देखि १० सम्म १ हजार १ सय विद्यार्थीको कोटा भए पनि एक हजार आठ सय जनाले आवेदन फाराम भरेका थिए ।जिल्लाका अन्य सामुदायिक विद्यालयको शैक्षिकस्तर नसुध्रिँदा यी विद्यालय भने उत्कृष्ट बन्दै गइरहेका छन् । पछिल्लो समय सामुदायिकमा छात्रवृत्तिका लागि विद्यार्थी भर्ना हुने क्रम बढे पनि यी विद्यालयले आफूलाई अब्बल साबित गरिरहेका छन् ।

भौतिक पूर्वाधार, अनुशासन, नतिजामुखी गुणस्तरीय शिक्षाका कारण विद्यालयमा चाप धेरै भएको जननमुना मा.वि.का प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए । उनका अनुसार २६ जनाको दरबन्दी रहेको विद्यालयमा एक सय २५ जना विषयगत शिक्षकले अध्यापन गराउँदै आएका छन् ।

दरबन्दी कम हुँदा करार र आंशिक शिक्षक थप्नुपरेको उनले जानकारी दिए । ‘सबैको नजरमा हाम्रो विद्यालय परेको छ,’ उनले भने, ‘आजसम्म बन्दहडतालले छोएको छैन, शिक्षकले रोटेसनअनुसार पठनपाठन गराउँदै आएका छौं ।’ गत वर्ष कर्णाली प्रदेशमा सर्वोत्कृष्ट भएको विद्यालयबाट दुई विद्यार्थीले एसईईमा ४ जीपीएस ल्याएका थिए ।

जिल्लामा पाँच सय दुई सामुदायिक विद्यालय छन् । अंग्रेजी माध्यमसँगै सहज शैक्षिक उपलब्धि हासिल हुनेगरी पढाइ हुन थालेपछि निजी छाडेर सामुदायिकमा भर्ना हुन आउनेको लहर चलेको हो । ‘विद्यालयमा व्यावसायिक र प्राविधिक शिक्षासमेत सञ्चालन गरिएको छ, हरेक कक्षाका विद्यार्थीलाई प्रयोगात्मक पठनपाठनमा जोड दिइरहेका छौं,’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘विद्यार्थीको गतिशीलतामा सुधार, अनुशासन र जिम्मेवारीलाई प्राथमिकता दिएर पठनपाठन गराइरहेकाले उत्कृष्ट बन्न सफल भएका हौं ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved