पूर्वाञ्चल विश्वविद्यालयमा काँग्रेसी झमेला

  • प्रकाशित मितिः चैत्र, 11, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / पूर्वाञ्चल विश्वविद्यालय काँग्रेसी झमेलामा फसेको छ । आफ्नै भातृ संस्था पीयूको प्राध्यापक संघ इकाई समितिले माग गर्दै आएको मुद्दाको सरकारले गरेको सुनुवाईलाई लिएर पार्टीले अर्को रोइलो झिकेको हो ।

दुई सदस्यीय कार्यकारी परिषद्ले नियुक्ति गरेका पदाधिकारी बर्खास्तीको माग गर्दै इकाई समितिले गत पुस २९ गतेदेखि तालबन्दी गरेको थियो । त्यहि तालाबन्दीका कारण लामो समयसम्म अस्तव्यस्त रहेको पीयूलाई निकास दिन कुलपति तथा प्रधानमन्त्रीको निर्देशनमा सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनलाई पार्टी जिल्ला समितिले अवैधानिक भन्दै आन्दोलित बनेको छ ।

काँग्रेसले कार्यकारी परिषद् र सेवा आयोगले वैधानिक ढंगबाट लिन खोजेको परीक्षामाथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ ।

विश्वविद्यालयमा पदाधिकारी नियुक्ति र सेवा आयोगद्वारा पदपूर्तिका लागि लिन लागिएको परीक्षा मन्त्रालयले गत चैत ५ गते निर्देशानात्मक परिपत्रमार्फत स्थगित गरेको थियो ।

त्यसलाई काँग्रेसले अवैधानिक ठहर गरेको छ । तर, काँग्रेस निकट प्राध्यापक संघले पूर्वाञ्चल विश्वविद्यालय इकाईले त्यहि विषयलाई अवैधानिक भन्दै केन्द्रिय कार्यालयमा गत पुस २९ गतेदेखि तालाबन्दी गरेको थियो । त्यहि मुद्दामा बार्गेनिङ गर्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन, क्रान्तिकारी विद्यार्थी संगठन र प्रगतिशील प्राध्यापक संघले समेत शैली मिलाएको थियो ।

सरोकारवाला पक्षहरु आन्दोलित भएपछि छानविन समिति समेत गठन भएको थियो । तर, आफ्नै भातृ संस्था समेत आन्दोलित भएको मुद्दामा नेपाली काँग्रेस मोरङले विपरित ढंगबाट आन्दोलन थालेको छ ।

लामो समयसम्मको अन्यौलताले विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेपछि कुलपति तथा प्रधानमन्त्रीको निर्देशनमा सहकुलपति समेत रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेले गत चैत ५ गते पदाधिकारी नियुक्ति तथा परीक्षा स्थगित भएको परिपत्र विश्वविद्यालयलाई गरेका थिए ।

पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० को दफा (२२) उपदफा (३) बमोजिम कुलपतिको निर्देशनमा ऐनको दफा (२३) उपदफा (२) बमोजिम सहकुलपतिको निर्देशन अनुसार पदाधिकारी नियुक्ति र परीक्षालाई बदर गर्न परिपत्र गरिएको हो ।

ऐनको दफा १२ बमोजिम गठन हुनुपर्ने पाँच सदस्यीय कार्यकारी परिषद्ले पूर्णता नपाएको अवस्थामा दैनिक कार्यसम्पादन बाहेक अन्य दिर्घकालिन निर्णय गर्न नमिल्ने मन्त्री तथा सहकुलपतिको परिपत्रमा उल्लेख छ । परिषद्लाई पूर्णता दिनतर्फ ध्यान नदिएर दुई सदस्यीय कार्यकारी परिषद्ले पदाधिकारी नियुक्ति तथा सेवा आयोगबाट पदपूर्तिका लागि खुलाइएका विज्ञापनको विषयमा छानविन भईरहेकोले सबै निर्णयहरु स्थगन गर्न परिपत्रमा भनिएको छ । त्यो प्रकरणका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा छानविन समिति समेत गठन भईसकेको छ ।

पदाधिकारी नियुक्ति र परीक्षा स्थगित गरिएको विषयमा भने नेपाली काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता र स्वायत्ततामाथिको हस्तक्षेप भएको बताए । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीमार्फत ज्ञापनपत्र बुझाउँदै निर्णय सच्याउन समेत आइतबार माग गरिएको छ ।

पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा गैरकानुनी र गैर प्रजातान्त्रिक ढंगबाट कार्यकारी परिषद्ले नियुक्ति गरेका पदाधिकारी र सेवा आयोगले पदपूर्तिका लागि लिने परीक्षा स्थगित गर्ने निर्णय तत्काल सच्याउन माग गरिएको छ ।

दुई सदस्यीय मात्रै कार्यकारी परिषद् रहेको विश्वविद्यालयमा गत पुस अन्तिम साता समन्वय महाशाखाका प्रमुख राजेश झालाई सहरजिस्ट्रार, डिनमा गोपाल शर्मा र कोमल दुलाललाई नियुक्ति गरिएको थियो । त्यहि विषयमा विवाद हुँदा काँग्रेस निकट प्राध्यापक संघ इकाई समितिले विश्वविद्यालयको केन्द्रीय कार्यालय, उपकुलपति प्रा.डा. घनश्याम लालदास, रजिस्टार प्रमिला थापा सहरजिस्टार राजेशकुमार झासहित प्रशासन र लेखा शाखामा तालाबन्दी गरिरहेको छ ।

नेपाल प्राध्यापक संघसहितको तालाबन्दीपछि उपकुलपति दासले बाहिरी परिसरमा टेन्ट गाडेर अस्थायी कार्यालय सञ्चालन गर्दै आएका छन् । लामो समय अन्यौलमा रहेको विश्वविद्यालयलाई निकास दिन कुलपति तथा सहकुलपतिले गरेको परिपत्रको विरोध गर्दै काँग्रेस मोरङ भने आन्दोलनमा उत्रनुको पछि धेरै कारण रहेको अनुमान गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयलाई आन्दोलित बनाई राख्ने भूमिकामा भने पूर्व उपकुलपति शिरिश रिजाल र योजना प्रमुख सन्जेश कोइराला भित्री खेल रहेको मानिएको छ । उनीहरुकै पछि लागेर विद्यार्थीको राजनीतिक गर्दै आएका विद्यार्थी संगठन समेत पदाधिकारी नियुक्ति विरुद्ध आन्दोलनमा उत्रेको बताइन्छ ।

विश्वविद्यालयलाई अस्थिर बनाउँदै छ महिनासम्म अस्तव्यस्त बनाईराख्दा उपकुलपति उम्काउन पाउने भित्री मनसायलाई सरकार सञ्चालन गरिरहेका पार्टीका विद्यार्थी संगठनहरु भने बुझ्न नसकेको विश्लेषण समेत गरिदैं आएको छ । एमाले निकट अनेरास्ववियूका मोरङ अध्यक्ष गोकर्ण घिमिरेले भने आफूहरुको आन्दोलन विश्वविद्यालयमा भईरहेको अवैधानिक गतिविधि नियन्त्रणका लागि मात्रै रहेको दावी गर्दछन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved