छाउ गोठमा बस्नेको सेवा सुविधा रोक

  • प्रकाशित मितिः चैत्र, 10, 2075
  • पहिलो किताब संवाददाता

डोटी / जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने भएको छ । पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सबैखाले सेवा सुविधामा रोक लगाउने बताए ।

उनले भने, “महीनावारी भए छाउगोठमा बसे सबै सेवासुविधा कटौती गर्छौं, सफासुग्घर हुनुस् घरैमा बस्नुहोस् ।” पूर्वीचौकी गाउँपालिकासँगै डोटी जिल्ला र सुदूरपश्चिम प्रदेश क्षेत्र छाउपडी प्रथाका नाममा बदनाम भइसकेको र छाउपडीलाई जानाजान प्रथाका रुपमा मान्नेलाई आफूले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने उनले बताए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै डोटीका प्रजिअ यादव सुवेदीले छाउपडीलाई कुप्रथा र अपराधका रुपमा लिइसकेकाले कसैले पनि छाउपडीका नाममा अपराध गर्न नहुने बताए । उनले भने, “छाउपडी प्रथा अपराध मानिएको छ, अपराधजन्य काम कसैले गर्नु भएन ।”

डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले छाउपडीलाई प्रथाका रुपमा लिई असुरक्षित तवरले गोठमा बस्ने विषयमा गाउँगाउँमा जनचेतना फैलाउनु पर्ने र अटेरी गरेमा कानूनी कारवाही गर्नुपर्ने बताए । उनले भने, “जबर्जस्ती छाउगोठमा राख्नेलाई कारवाही नगरेसम्म यो प्रथा हट्ने देखिन्न ।”

गाउँमा छाउपडीका विषयमा जानकारी नभएर नभई बुझेर बुझ पचाएका कारण समस्या भएको पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले बताइन् । उनले भनिन्, “छाउपडी हटाउन सुरक्षित तवरले घरभित्र बस्नेहरुलाई पुरस्कृत र कुप्रथा मान्नेलाई कानूनी सजाय गर्न जरुरी भएको छ ।”

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी कार्यक्रम भए पनि कार्यक्रमका अधिकांश वक्ताले छाउपडी प्रथाकै विषयमा समय खर्चेका थिए । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय स्थानीय तहसँगको समन्वय र सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिरहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा एम्बुलेन्स दिइँदै

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सात पहाडी जिल्लामा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, बाजुरा र डोटीमा गरी १६ वटा एम्बुलेन्स दिने भएको जनाइएको छ ।

सात पहाडी जिल्लाका दुर्गम १६ वडा निर्वाचन क्षेत्रमा उक्त एम्बुलेन्स वितरण गरिने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । यहाँका पहाडी भेगका दुर्गम क्षेत्रका मानिसको स्वास्थ्य सेवामा पहुँच बढाउन प्रदेश सरकारले सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गर्न लागेको मन्त्री सुवेदीले बताए ।

प्रदेश सरकारले प्रति एम्बुलेन्स रु ३९ लाखका दरले ६ करोड ४० लाख खर्च गरिरहेको र केही समयभित्रै खरीद प्रक्रिया पूरा गरी निर्वाचन क्षेत्रमा एम्बुलेन्स हस्तान्तरण गरिने उनले जानकारी दिए ।

त्यस्तै सुदूरपश्चिममा वर्षेनी औषत ३२ हजार महिला सुत्केरी हुने गरेको र आमा सुरक्षा कार्यक्रममा बजेट अभाव भएकाले केन्द्र सरकारसँग रु २९ करोड माग गरेको मन्त्री सुवेदीले बताए । सुदूरपश्चिममा डाक्टरको अभाव रहेको बताउँदै उनले कम्तीमा १० वर्ष यसै क्षेत्रमा बस्ने गरी चारजना गैरदलित र चारजना समावेशी गरी आठजना डाक्टरका लागि बजेटको व्यवस्था गरिने जानकारी दिए ।

डोटी जिल्लामा पनि एकजना डाक्टर राख्न वर्षेनी रु २०/२२ लाख प्रदेश सरकारले सहयोग गर्ने उनले बचन दिए । यस्तै जिल्ला अस्पताल प्रदेश सरकारको मातहतमा रहेकाले रिक्त रहेका व्यवस्थापन समितिलाई यसै चैत महीनाभित्र पूर्णता दिने उनले बताए । रासस



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved