माघ १६ मा तनहुँमा अल्ट्रा म्याराथन हुने

  • प्रकाशित मितिः पुष, 29, 2075
  • पहिलोकिताव संवादताता

दमौली / खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ।सहिद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो।

व्यास नगरपालिका–५ मानहुँबाट सुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहने छ। म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैँचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिने छ।

नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र सहिदको गाउँ पुलिमराङलाई खेलकूदको माध्यमबाट जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको जानकारी दिए।

प्रतियोगितामा १ सय ५० भन्दा बढी धावकको सहभागिता रहने अनुमान गरिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष एवम् प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। गत वर्ष आयोजना गरिएको प्रथम व्यास नगर अल्ट्रा म्याराथनमा ३० जिल्लाका १ सय ४४ धावकको सहभागिता रहेको थियो। जसमध्ये १ सय २३ धावकले दौड पुरा गरेका थिए।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ८० हजार, दोस्रो हुनेलाई नगद ६० हजार, तेस्रो हुनेलाई नगद ५० हजार र सान्त्वना हुने पाँच जनालाई १५/१५ हजार रुपैयाँ प्रदान गरिने छ।

प्रतियोगिताका लागि नगर प्रमुख न्यौपानेको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति, व्यास नगरपालिका–५ वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र व्यास नगरपालिका–८ का वडाध्यक्ष ओजराज पौडेलको संयोजकत्वमा स्वागत समिति गठन गरिएको छ।

प्रतियोगिता सञ्चालनका लागि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेले माघ १४ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने नगरपालिकाले जनाएको छ।

न्यौपानेका अनुसार मानहुँमा यसै वर्ष ३० लाख रुपैयाँको लागतमा भ्युटावर निर्माण गरिनेछ भने पुलिमराङमा सहिद पार्क निर्माणको थालनी गरिने छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved