घुर तापेर जाडो छल्दै महोत्तरीका दलित

  • प्रकाशित मितिः पुष, 27, 2075
  • पहिलो किताब संवाददाता

बर्दिवास / “रमुआ हाथ, गोड ठिठूरगेल, कनि घुर सुन्गो न।।।” (रमुआ हात, गोडा कठङ्ग्रिएको छ, घुर(पतिङ्गर थुपारिएर बालिएको आगो) बाल्न) महोत्तरी भङ्गाहा नगरपालिका–६ हतिसर्वाको मदनपट्टीस्थित मुसहरीटोलकी भुठ्ठी सादाले छोरा रमुआलाई आए।

ओढ्ने, ओछ््याउने र लगाउने न्यानो लुगा नहुँदा मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउनु पर्ने बताउछन् । मुसहरका लागि जाडो छल्ने साहारा नै टोलमा बालिने घुर बनेको छ।

सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काइएको घुरमा निस्कने धुवाँ गनाउने धुवाँबीच चारैतिर बसेर न्यानो खोजी गर्नु जाडो महीनाभरी मुसहरको बिहानीको दैनिकीजस्तै बनेको छ ।

‘न राख्ने धन, न साच्ने अन्न’ आगनमा उभ्याइने गरिएका मुसहर अहिले थुरथुर मुटु कमाउने पश्चिमी सिरेटो लगातार आइ रहेपछि न्यानो कपडा र पोसिलो खानेकुरा नहुँदा बाक्लो धुवाँको मुस्लो निस्कने घुर(पातपतिङ्गर बटुलेर आगो बालिएको ठाउँलाई यहाँ घुर भनिन्छ) वरीपरी बसेर न्यानो खोज्न विवश भएका छन् ।

जिल्लाका बर्दिवास नगरपालिकाका बर्दिवास, विजलपुरा, मेघरोल होस् कि भङ्गाहा नगरपालिकाका रामनगर, भङ्गाहा, सकरी, सिद्धपुर, बखरी, मदनपट्टी, धर्मपुर वा हरिनमरीका मुसहर जातिका दलित बस्तीछन् । सबै मुसहर बस्तीमा जाडोको साझा साहारा ‘घुर’ नै बनेको छ।

स–साना पराले झुप्रा भएका बस्तीपिच्छे बालिएका घुर नै मुसहरको जाडोबाट बच्ने उपयुक्त उपाय हो । खासगरी एकैठाउँ गुजुमुजु देखिने पराले झुप्रा बनाएर झुरुप्प बस्ने महोत्तरीका मुसहरका अतिरिक्त बाँतर, चमार, दुसाध, डोम, मेस्तर र खत्बेलगायतका दलित जाति समुदायको बस्तीमा पनि घुर ओरीपरी बुढाखाडा, बालबालिका र महिला एकैठाउँ हात फैलाएर न्यानो खोजी रहेका हुन्छन् । खासगरी मुसहर र बाँतर बस्तीमा घुरको चलन देखिन्छ ।

किशोर र तन्नेरी यी बस्तीमा देखिदैनन् । १३÷१४ वर्षको भएपछि कामका लागि भारतको पञ्जाव, हरियाणा जाने दलित बस्तीको आम प्रचलनले किशोर र तन्नेरी नदेखिएका हुन् । “बस्तीमा हाम्रा भाइ–भतिजा, छोरा छैनन् हजुर १” भङ्गाहा नगरपालिका–४ का मुसहर बस्तीको माझमा बालिएको ‘घुर’ छेउमा बसेका पाका उमेरका बदरिया सादाले लामो खोकीबीच नै भन्नुभयो, “उनीहरु त पञ्जाव गए’छन् ।” किशोर र तन्नेरी पञ्जाव नगए मुखमा माड नलाग्ने बदरिया सादाको थप भनाइ छ ।

महोत्तरीसहितका पूर्वीमध्ये तराईमा वर्षेनी हिँउदमा शीतलहरको कहर हुने गरेको छ । यस्तो बेला न्यानो कपडा लगाउनपर्ने, घर बाहिर ननिस्कने र पोसिलो तथा ताजा खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । तर चरम गरीबी र अशिक्षाले रुमलेको मुसहर, बाँतरसहितका दलित बस्तीमा यो सन्देश नपसेको महोत्तरी बर्दिवास–१२ विजलपुराका मुसहरीटोल नजिकका शिक्षक रमेश कोइराला बताउँनुहुन्छ ।

पछिल्ला पाँच÷छ दिन यता चिसो बढेर बनिबुतो गर्न जान नसक्दा जाउलो खाने सर्दाम घरमा रित्तिएको सियान्कीको थप भनाइ छ । लगातार बढेको जाडोबाट बच्न दलित बस्तीमा सल्काइएका घुर ताप्दा त्यसबाट निस्कने विषक्त धुवाँले श्वासप्रश्वासका बिरामी झन्बडेका छन् । “चिसोमा त्यसै पनि स–साना बालबालिका, महिला र बुढापाकालाई निमोनियाले गाज्ने गर्छ” बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा. किशोर अधिकारीले भन्नुभयो, “झन् धुवाँ रुमलिएको घुर ताप्न बस्दा श्वासप्रश्वासका बिरामी झन् बढ्ने नै भए ।”

राम्ररी नसुकेको पतिङ्गर, झुत्रा सडकमा फालिएका चिथ्रा र प्लाष्टिक बाल्दा त्यसबाट निस्केको धूवाँले यस्ता बिरामी अझ बढेको डा अधिकारीको निष्कर्ष छ । विशेषगरी दलित बस्तीका बुढापाका, सुत्केरी महिला र स–साना बालबालिकामा रुघाखोकी, हाडजोर्नी दुख्ने र श्वासप्रश्वासको समस्या बढेको जिल्ला अस्पताल र अन्य निजी स्वास्थ्य संस्थाले जनाएका छन् ।

पुस सकिएर माघ लाग्नैलाग्दा जाडो झन् छिप्पिने छ । जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा पछिल्ला तीन दिनयता घाम अक्कलझुक्कल मात्र देखिने गरेको छ । एका बिहानैदेखि लगातार बही रहेको चिसो सिरेटोले गर्दा बनिबुतो गरेर जीवन चलाउने गरीब श्रमिक सकसमा परेका छन् ।

चिसो ह्वात्तै बढेपछि जिल्लाका अधिकांश स्थानीयतहमा पुस २५ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा दिइएको छ । जाडो निक्कै बढेर स–साना नानी विद्यालय आउन पातलीएपछि नगरक्षेत्रका विद्यालयमा पाँच दिनको बिदा दिएको बर्दिवास नगरपालिका, शिक्षा शाखाका प्रमुख जयराम अधिकारीले जानकारी दिनुभयो ।

चिसो बढेसँगै खानपान, आहारव्यहारमा राम्रो ख्याल राख्न चिकित्सक र स्वास्थ्यकर्मीले सुझाएका छन् । यसैगरी चिसोले बढी प्रभावित देखिएका गरीब र दलित बस्तीमा चिसो पतिङ्गरको ‘घुर’ विस्थापित गर्न राम्रो सुकेको दाउरा वितरणको चाजो मिलाउन, स्वास्थ्यकर्मी टोली परिचालित गर्न र पोसिलो खानेकुराको जोहो गर्न स्थानीय तह (नगरपालिका र गाउँपालिका) ले पहलकद्मी लिनुपर्ने भनाइ बुद्धिजीवीको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved