सरकारले ल्यायो नयाँ व्यवस्था , छोराछोरीको तलबको निश्चित प्रतिशत रकम आमाबाबुको खातामा राख्नै पर्ने

  • प्रकाशित मितिः पुष, 27, 2075
  • पहिलोकिताव संवादताता

काठमाण्डौँ / सरकारले आमाबाबुको खातामा अनिवार्य रूपमा छोराछोरीले आफ्नो तलबको निश्चित प्रतिशत रकम जम्मा गर्नुपर्ने कानुन ल्याउने भएको छ ।जेष्ठ नागरिकसम्बन्धी ऐनमा संशोधन गर्दै सरकारले सार्वजनिक पद धारणा गरेका, अन्तराष्ट्रिय संस्थाहरूमा काम गर्ने तथा निजी तथा संगठित क्षेत्रमा काम गर्नेहरूले अनिवार्य रूपमा प्रत्येक महिना निश्चित प्रतिशतले आमाबुबाको संयुक्त खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले नियमित पारिश्रमिक पाउने व्यक्तिले १० प्रतिशत रकम अनिवार्य रूपमा आमाबाबुको संयुक्त खातामा जम्मा गर्नुपर्ने गरी व्यवस्था प्रस्ताव गरेको थियो ।प्रधानमन्त्री कार्यालयले भने दश प्रतिशतको व्यवस्था हटाएर सरकारले फेरबदल गर्न सक्ने लचिलो व्यवस्था संशोधनमा ल्याएको छ ।

सरकारले ल्याएको संशोधन विधेयकमा आमाबाबुबाट छुट्टिएको अवस्थामा समेत सन्तानले बैंक खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।‘सार्वजनिक पद धारण गरेका व्यक्तिले मासिक पारिश्रमिकको तोकिए बमोजिमको प्रतिशत रकम आफ्ना जेष्ठ नागरिक बाबुआमाको नाममा रहेको बैंक खातामा जम्मा गर्नुपर्नेछ’, विधेयकमा भनिएको छ, ‘अन्तराष्ट्रिय वा अन्तरसरकारी संघ, संगठन वा प्रचलित कानुन बमोजिम संस्थापना वा दर्ता भएका निजी संस्थाबाट नियमित पारिश्रमिक लिइरहेका व्यक्तिले आफ्नो मासिक पारिश्रमिकको तोकिए बमोजिमको प्रतिशत रकम बैंक खातामा नियमित जम्मा गर्नुपर्नेछ ।’

त्यस्तै कुनै सार्वजनिक संस्थाको पदमा रहेको व्यक्ति र कर्मचारीलाई समेत सार्वजनिक पदका रूपमा अर्थ्याइएको छ ।सरकारले विधेयकमा निवृत्तिभरण (पेन्सन) पाउने व्यक्तिले समेत निश्चित प्रतिशत रकम आमाबाबुको खातामा जम्मा गर्नैपर्ने प्रावधान संशोधनमा गरेको छ ।

आमा र बाबु सगोलमा रहेको अवस्थामा संयुक्त खातामा र छुट्टाछुट्टै रहेको अवस्थामा आफूले हेरचाह गर्नुपर्ने बाबु वा आमाको खातामा रकम जम्मा गर्नुपर्नेछ ।नियमित पारिश्रमिक पाउने वा निवृतिभरण पाइरहेका वा स्वरोजगार, व्यापार, व्यवसाय वा अन्य आयआर्जन भएका जेष्ठ नागरिकको खातामा सन्तानले रकम जम्मा गर्नुपर्ने छैन् ।

तर त्यस्तो आय सरकारले तोकेको रकमभन्दा कम भए भने छोराछोरीले रकम जम्मा गर्नुपर्नेछ ।निजी तथा संगठित क्षेत्रमा रहेका तथा पेन्सन बुझिरहेकाहरूले ऐन लागू भएको पन्ध्र दिनभित्र बाबुआमाको खातामा रकम जम्मा गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा स्थानीय तहलाई अनिवार्य जानकारी गराउनुपर्नेछ ।

सन्तानले खातामा रकम जम्मा नगरे स्थानीय तहको सिफारिसअनुसार व्यक्ति कार्यरत कार्यालयको प्रमुखले पारिश्रमिकबाटै रकम कट्टा गरेर जम्मा गर्न आदेश दिने व्यवस्थासमेत विधेयकमा छ ।विधयकले बाबुआमाले जम्मा भएको रकम इच्छाएको काममा खर्च गर्न पाउने व्यवस्था गरेको छ । साथै उक्त रकम बाबुआमाको मृत्युपछि अन्त्येष्टिमा खर्च गर्न सक्नेछन् । तर बाबुआमाको अन्त्येष्टिपछि पनि रकम बाँकी रहेको अवस्थामा भने सन्तानले लिन पाउनेछन् ।

सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विधेयक पारित भएर प्रतिनिधि सभाबाट समेत पारित भएपछि लागू हुनेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved