सुुन्दर भविष्यको खोजीमा विदेशिएका १९४ महिला सम्पर्कविहीन

  • प्रकाशित मितिः पुष, 18, 2075
  • पहिलो किताब संवाददाता

राँझा / वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन् ।

बितेको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा निवेदन दिएको सो संस्थाका संयोजक केशव कोइरालाले बताए । आफन्तका अनुसार उनीहरू जोखिमपूर्ण यात्रामा भारत तथा खाडी मुलुकमा पुगेर हराएका छन् । माइती नेपाल नेपालगञ्ज कार्यालयको सन् २०१८ को तथ्याङ्कअनुसार, बाँकेको कोहलपुर नगरपालिकाका ६२ जना, नेपालगञ्ज उपमहानगरपालिकाका ४२, राप्तीसोनारी गाउँपालिकाका ३१, बैजनाथ गाउँपालिकाका ३३, खजुरा गाउँपालिकाका २०, जानकी गाउँपालिकाका चार र डुडुवा गाउँपालिकाका दुईजना घरपरिवारको सम्पर्कमा छैनन् ।

प्रायः पर्यटन भिसामा खाडी मुलुकमा जाने उनीहरू तीन महीनासम्म घरपरिवारसँग सम्पर्कमा रहे पनि त्यसपछि लुकेर काम गर्नुपर्ने बाध्यता रहेको कोइरालाले बताए। कतिपयलाई मालिकले जोखिमपूर्ण काममा लगाई घरपरिवारसँग सम्पर्क गर्न नदिने गरेको अवस्था छ ।

इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक शिवकुमार वलीले पठाउँदा लुकीछिपी दलालको विश्वासमा पठाउने र हराएपछि मात्र प्रहरी र सङ्घसंस्थाको सम्पर्कमा आउने हुनाले खोजतलासमा कठिनाइ हुनेगरेको बताए ।

मानवबेचिबिखन विरुद्ध कार्यरत सङ्घसंस्थाहरूसँग समन्वय गरी मानव बेचबिखन विरुद्ध क्रियाशील रहेको उनको भनाइ छ । सन् २०१८ मा असुरक्षित यात्रामा रहेका ९२० जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता गरिएको छ ।

अधिकारकर्मी कमला पन्तले सीमापार यौन शोषण तथा श्रम शोषण र अङ्ग बेचबिखनका लागि मानव बेचबिखन हुने गरेको पाइएको बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved