मुख्यमन्त्री सहित आफ्नै दलका नेताको अनुपस्थितिका बिच पार्क शिलान्यास

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरी–९ मा सार्वजनिक जग्गा हडपेर संचालनमा रहेको डिभिएम स्कुलको जग्गा नगर सरकार मातहत ल्याउन इटहरीका मेयर द्धारीकलाल चौधरीले थालेको कोशिसले बिरोध र असहमतिका बिच बल्ल मुर्त रुप लिएको छ ।

आफ्नै दलकी सदस्य समेत रहेकी उपमेयर लक्ष्मी गौतम सहित दल भित्रकै नेताहरुको असहमति रहेको पार्क निर्माणको विषयलाई शिलान्यास गरेर मेयर चौधरीले सार्वजनिक जग्गा जोगाउने अभियानमा नयाँ अध्यायको थालनी गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईबाट शिलान्यासको तयारी गरेका मेयरको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री सहित ,सभामुख प्रदिप भण्डारी, उपमेयर गौतम, प्रदेश सभा सदस्य लिलम बस्नेत र नेकपा नेता रेवती रमण भण्डारी लगायत शिलान्यास समारोहमा उपस्थित नभएपछि मेयर चौधरीले १०१ वर्षिय भानुभक्त लम्शाललाई अघि सारेर पार्कको शिलान्यास गराएका छन् । भुमाफियाले जग्गा हडप्न खोजेको सुचना पाएपछि गोप्य रुपमा तयारी गरेर पार्क निर्माणको काममा अघि बढेका मेयरको योजना रोक्न चौतर्फी कोशिस भएको थियो । तर बुधवार नगर कार्यपालीकाको बैठकबाटै पार्क निर्माणको विषयलाई अनुमोदन गराएपछि पार्क निर्माणको विषयले गति लिएको थियो ।

कार्यपालीकाको निर्णय लगत्तै पार्क शिलान्यास कार्यक्रमलाई मुख्यमन्त्री, सभामुख, प्रदेश सरकारका मन्त्री र नेकपाका नेताहरुले बहिष्कार गर्ने बजारमा हल्ला चलेको थियो । शिलान्यास कार्यक्रममा बोलाईएका अतिथि नआए पनि पार्क शिलान्यास गरेरै छाड्ने तयारीमा रहेका मेयर चौधरीले डिभिएमले हडपेको जग्गा नगर सरकार मातहत ल्याएरै छाड्ने आफ्नो योजना सफल बनाउन शिलान्यास कार्यक्रमको तयारी तिब्र बनाएका थिए । बिहीवार विहान नगरपालीकाले आयोजना गरेको शिलान्यास समारोहमा प्रदेश सभा सदस्य सर्वध्वज साँवा, नेकपाका नेताहरु हिमाल सुवेदी, ओम कोईराला, बहादुर सिंह तामाङ र रेवती घिमीरे मात्रै उपस्थित थिए ।

पार्क शिलान्यास समारोहलाई भव्य बनाउन नगरपालीकाले प्रदेश सरकारका मन्त्री, सभामुख, नेकपाका नेताहरु गरी आसपासका नगरपालीकाका प्रमुखहरु सम्मलाई अथितिका रुपमा बोलाएको नगरपालीकाका एक कर्मचारीले जानकारी गराएका छन् । भव्य रुपमा पार्क शिलान्यासको कार्यक्रम गर्ने योजना बनाएका मेयर चौधरीको योजनामा असहमति सतहमा नै देखिने गरी आएका थिए । जसलाई शिलान्यास कार्यक्रममा भएको उपस्थितिले समेत पुष्टि गरेको छ ।

नेकपा भित्रकै नेता अनि नाम चलेका इटहरीका ४२ जनाको लगानीमा संचालनमा रहेको विध्यालयले हडपेको जग्गा जोगाउने अभियानमा लागेका मेयरलाई शिलान्यास सम्म पुग्नका लागि झण्डै एक वर्ष लागेको थियो । मेयरले सो स्कुलले हडपेको जग्गामा पार्क बनाउने काममा अवरोध गर्न अनि असहमति जनाउन शिलान्यासमा बोलाईएका नेता र सरकारका सदस्य नआउने सुईको पाएपछि बृद्धको हातबाट शिलान्यास गराउने तयारी गरेको कार्यक्रमको सुरुवातमा नै स्टेजमा बृद्ध लम्शाललाई बोलाएपछि सहभागिले थाहा पाएका थिए ।

निजी क्षेत्रका पसल, व्यापारीक मल र अन्य साना कार्यक्रम सम्म उद्घाटन गर्ने काममा दौडने गरेका मुख्यमन्त्री सहितका सरकारका प्रतिनिधि र नेताहरु मेयर चौधरीले थालेको शाहसिक काममा साथ दिन नपुगेकोमा शिलान्यास समारोहमा मेयरको हौसला बढाउन पुगेका नगरवासीले आलोचना गरीरहेका थिए । उनीहरुले मेयर चौधरीको काममा साथ अनि हौसला दिन नआएर सरकारी जग्गा हडप्नेलाई साथ दिएको भन्दै कार्यक्रममा अनुपस्थित भएकाको आलोचना गरेको देखिन्थ्यो ।

तर शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राई सहित प्रदेश सरकारका मन्त्री, सभामुख र नेकपाका नेताहरु नै अनुपस्थित भएपछि इटहरीबासीले भुमाफियाको चलखेललाई सघाउ पुर्याउने उदेष्यले उनीहरु अनुपस्थित भएर कार्यक्रमलाई असहयोग गरेको आरोप लगाएका छन् ।

शिलान्यास समारोहलाई सम्वोधन गर्दै सांसद सर्वध्वज साँवाले मेयर चौधरीले साहशपुर्वक थालेको सार्वजनिक जग्गा जोगाउने अभियानमा साथ दिन अनि ईटहरीलाई सुन्दर बनाउने पार्क निर्माणको काममा सहयोग गर्न सबैलाई अपिल गरे । उनले विरोध र असहमतिका बिच भएपनि मेयरले राम्रो कामको थालनी गरेको भन्दै मेयरको पार्क निर्माणको काममा आफ्नौ पुर्ण सहयोग रहने बचन दिए ।

कार्यक्रममा बोल्दै काँग्रेस प्रतिनिधि एवं वडा नम्वर –६ का वडा अध्यक्ष दिपक गौतमले पनि मेयरको पार्क बनाउने योजनालाई कार्यपालीकाको बहुमतले अनुमोदन गरेको जानकारी गराए । उनले सार्वजनिक जग्गा जोगाउने काममा सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।

समारोहको समापन गर्दै मेयर चौधरीले सार्वजनिक जग्गा जोगाउने कामको आजबाट थालनी भएको र यो क्रम अब नरोकिने बताएका छन् । उनले मुख्य मन्त्री व्यस्तताका कारण आउन नसकेको सहभागिलाई जानकारी गराउँदै आगामी बैषाखमा पार्क उद्घाटनमा आउने जानकारी गराएका थिए । मेयर चौधरीले आफ्नो कार्यकालमा इटहरीलाई सुन्दर अनि बिकसीत बनाएर नै छाड्ने उद्घोष समेत गरेका छन् । उनले विकासका काममा अवरोध नगर्न नगरबासीलाई आग्रह गर्दै विगतमा भुमाफियाले हडपेका जग्गा सरकार मातहत ल्याएर नै छाड्ने बचन समेत दिएका छन् ।

सार्वजनिक जग्गा हडपेर स्कुल सञ्चालन गर्ने यि थिए

१. भीम बहादुर पौडेल, २.बेनुप्रसाद सिटौला ३. ईश्वरी पराजुली ४. गीता रायमाझी, ५. टिकादत्त बन ६. प्रवीण खेतान ७. ध्रुव कुमार लिम्बु, ८. मातृका प्रसाद आचार्य, ९. खेमहाङ मादेन, १०. सुनिल आचार्य, ११. मदन राई, १२. कैलाश पञ्चोरीया, १३. बोधराज निरौला, १४. बिष्णु रिजाल, १५. निलम चौलागाई १६. शम्भु थापा, १७.प्रदिप अधिकारी, १८. दुर्गाप्रसाद आचार्य, १९. सूर्य रायमाझी २०. हिरण्य रिजाल, २१. राजेश खनाल, २२. डा.कृष्ण नेपाल २३. दिलीप राई २४. भुपालसिंह लिम्बु, २५. डिल्ली राई, २६. भवानी सुवेदी, २७.ज्ञान बहादुर सुब्बा, २८. डिल्लीराम सिग्देल, २९. बिज्ञान राई, ३०. धनमाया बस्नेत ३१. भिमा राई, ३२. धनकुमारी लिम्बु, ३३. सरिता रायमाझी ३४. खगेन्द्र बिमली ३५. किरण पराजुली, ३६. सरिता गौतम ३७. बलराम भण्डारी ३८. मीन बहादुर मगर, ३९. सरिता घिमिरे, ४०. चक्र न्यौपाने ४१. निर्मला मादेन, ४२. सुरेन्द्र लिम्बु

यो पनि- रोकिदैन जनता पार्क निर्माण : डिभिएमका पक्षमा नलाग्न मेयरको अपिल

मेयर चौधरीको पार्क बनाउने निर्णय कार्यपालिकाबाट अनुमोदन

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved