यसकारण औषधि खान मान्दैनन् एचआइभी सङ्क्रमित

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलोकिताव संवादताता

डोटी /  डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि औषधि सेवन छोडेका छन् । आफ्नो रोग निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने उनी जिद्दी गर्छन ।एआरटी सेवन गर्न छाडेपछि धनसरालाई अन्य रोगको सङ्क्रमण हुन थालेको छ । धनसराजस्तै अन्य सङ्क्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्दै आएका छन् । “स्वास्थ्य संस्थाबाट औषधि लिएर जान्छन् तर घरमा लगेर थन्क्याइदिन्छन्”, सङ्क्रमित कमला मल्ल भन्छिन्, “एक महिलाले २४ महीनासम्मको औषधि घरमै थन्क्याएको पाइयो ।” औषधि सेवन नगरेकै कारण उनको छिट्टै मृत्यु भएको उहाँको जिकिर छ । विसं २०६२ मा पहिलो पटक आफू एचआइभी सङ्क्रमित भएको भन्दै खुल्ला बनेकी कमला भन्छिन्, “कयौँ सङ्क्रमितको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही राम्रो हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधि सेवन गर्दैनन् ।”

पछिल्लो समयमा यस्तो समस्या देखिएको डोटी जिल्ला अस्पतालका डा गिरीस अवस्थी बताउनुहुन्छ । “लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने मानसिकता रहेको पाइयो”, डा अवस्थीले भने, “लगातार औषधिको सेवन गर्न झण्झट मान्ने रहेछन् ।” सोही अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा भुषण मिश्र पनि सङ्क्रमितलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बीचमै सेवन गर्न छाड्ने बताउछन् । “लगातार औषधि सेबनले साइड इफेक्ट हुन्छ भन्ने बुझाइ रहेको छ”, डा मिश्र भन्छन्, “तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।”

जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ सम्पर्कबिहीन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मी जानकारी दिन्छन् । विश्व एड्स दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा एआरटी सेवन गरिरहेका कुल ७६४ सङ्क्रमितमध्ये १५१ को मृत्यु भइसकेको बताउँदै उनी ६० जनालाई जिल्ला बाहिर सिफारिश गरिएको छ । ‘एचआइभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऊँ’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमका सहभागीमध्ये आठ जनाको एचआइभी परीक्षण गरिएकामा कसैमा पनि सङ्क्रमण देखिएको थिएन ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved