बालिका बलात्कारको घटनामा गलत प्रतिवेदन दिने डाक्टरलार्इ रिहा गर्न चिकित्सक संघको माग

  • प्रकाशित मितिः कार्तिक, 17, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / बालिका बलात्कारको घटनामा गलत प्रतिवेदन (मेडिकल रिपोर्ट) दिने दुई डाक्टरलार्इ रिहा गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । बालिका बलात्कार मुद्दामा गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलार्इ अनुसन्धानका लागि थुनामा राखिएकोमा चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघले विरोध जनाएको हो ।

परीक्षणको क्रममा हुन गएको त्रुटीमा मेडिकल काउन्सिलले अनुसन्धान गरी कारबाही गरिसकेको र उक्त मुद्दा अदालतमा विचाराधिन रहेको भन्दै रिहाइको माग गरिएको हो ।

इलाका प्रहरी कार्यालय, खजुरी, धनुषाले गरेको अनुसन्धान भएको १२ वर्षिया बालिकाको बलात्कार सम्बन्धी स्वास्थ्य परिक्षणमा गलत रिपोर्ट दिएको थियो । सोही आरोपमा उनीहरुको लाइसेन्स समेत रोक्का गरिएको छ । शुक्रवार उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीहरुलाई सरकारी चिकित्सकको पद दुरुपयोग गरी भ्रष्टाचार गरेकाले हदैसम्म जेल सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।

२०७५ भदौ ८ गते जवरजस्ती करणी पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी गलत रिपोर्ट दिएको भन्दै यसअघि नै सरकारी वकिलको कार्यालयले निलम्वन गर्न सिफारिस गरेपछि उनीहरु कारबाहीमा परेका थिए । नेपालल मेडिकल काउन्सिलले असोज २५ गते उनीहरुलार्इ निलम्वन गरेको थियो ।

२०७५ भदौ २५ गते जिल्ला अस्पताल सिराहामा गरिएको पीडित बालिकाको स्वास्थ्य परिक्षण प्रतिवेदनबाट उनीहरुले गलत प्रतिवेदन दिएको देखिएको थियो । जनकपुर अञ्चल अस्पतालका चिकित्सकहरु सिंह र गोइतले बालिकाको स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले संवेदनशील रुपमा न्यूनतम गर्नसक्ने र गर्नुपर्ने काम समेत नगरी चरम लापरवाही गरी अनुसन्धान कार्यलाई प्रभावित पारेको आरोप लगाइएको छ ।

बलात्कार भएकी बालिकाको बलात्कार नभएको भन्दै डा. सिंह र डा. गोइतले अभियुक्तको पक्षमा रिपोर्ट बनाएपछि काउन्सिलले छानबिन समिति बनाएको थियो । प्रा.डा. हरिहर वस्ती, डा. कालुसिंह खत्री, डा. मधु तुम्बाहाम्फे र स्वास्थ्य मन्त्रालयका कानून उपसचिव पुष्करराज नेपाल समितिमा थिए । समितिले सिफारिस गरे बमोजिम बालिकाको शारीरिक जाँच गर्ने चिकित्सक गोइत र सिंहले न्युनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट बनाएको ठहर गर्दै व्यवसायिक प्रमाणपत्र निलम्वन गर्ने निर्णय गरेको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved