काँग्रेस नेताबीच आरोप–प्रत्यारोप

  • प्रकाशित मितिः कार्तिक, 5, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि तथा संसदीय दलका उप–नेता विजयकुमार गच्छदारले वर्तमान सरकारको आठ महिने कार्यकालले चारवर्षपछि बहुमतसहित काँग्रेस फर्कने दावी गरेका छन् ।

महामन्त्री कोइराला, पार्टीका उपसभापति निधि र संसदीय दलका उपनेता विजयकुमार गच्छदार पार्टीका केन्द्रीय नेता मिनेन्द्र रिजालका छोरा पर्जन्य रिजालको विवाह भोजका लागि विराटनगर आउने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पार्टीलाई एकतावद्ध बनाउनु पर्ने धारणा राखेका हुन् ।

काँग्रेसलाई एकतावद्ध बनाउनु पर्ने धारणा सबै नेताहरुको भएपनि पत्रकारसँगको कुराकानीमा भने काँग्रेस भित्रको फाटो, गुट तथा उप–गुटमा संलग्नता र असन्तुष्टि भने सबै नेताहरुमा थियो ।

उपसभापति निधिले काँग्रेस केन्द्रीय समितिको बैठक बस्न नसक्नुको कारण बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला रहेको आरोप लगाएका छन् । उनले विदेश भ्रमणमा गएका कारण बैठक प्रभावित भएको बताउँदै सभापति शेरबहादुर देउवाको बचाउ गरेका छन् ।

उपसभापति निधिले कहिले युरोप र कहिले भारत जाने कार्यक्रम छोडेर पार्टी बनाउने काममा लाग्नेका लागि आग्रह गर्दै काँग्रेसको बैठक बस्न नसक्नुको मुख्य कारण दुई नेता भएको बताएका छन् ।

निधिको आरोपको खण्डन गर्दै काँग्रेसका महामन्त्री कोइरालाले वरिण्ठ नेता पौडेलका कारण बैठक बस्न नसकेको भन्न नमिल्ने भन्दै बचाउ गरे । केन्द्रीय समितिको बैठक पौडेल बिनै बस्न मिल्ने भएपनि सभापतिमाथि एकलौटी ग¥यो भन्ने आरोप लाग्ने भएकोले समस्या भएको निधीको तर्क थियो ।
काँग्रेस महामन्त्री कोइरालाले रामचन्द्र पौडेलको विदेश भ्रमणको ‘सेड्युल’ पहिले नै तयार भएकोले बैठक रोकेको आरोप लगाउनु गलत हुने बताएका थिए । उनले कुन सन्दर्भमा भन्नुभयो–पौडेलको भ्रमणको कार्यक्रम पहिलेनै तय भईसकेको थियो ।

पार्टीमा गुट उपगुट आफूले नदेखेको बताउँदै निधिले काँग्रेस एक भएर आगामी चारवर्ष भित्रमा देशको बागडोर सम्हाल्नेमा विश्वास व्यक्त गरे । महामन्त्री कोइरालाले भने पार्टीमा गुटबन्दी भएकै कारण निर्वाचनमा पराजय भोग्दै आरोप र प्रत्यारोपतर्फ बढेको बताएका थिए । उनले एकतावद्ध पार्टी बनाएर लैजानको लागि मुख्य नेतृत्वमा समस्या रहेको भन्दै सभापति देउवाप्रति कटाक्ष व्यक्त गरे ।

कांग्रेसको गुटबन्दी समाप्त गरेर संगठन निर्माणमा लागे आउँदो ४ वर्षपछि पार्टीले जित हासिल गर्ने महामन्त्री कोइरालाले दावी गर्दै भने–‘पार्टीमा गुट छँदैछ नि तपाईहरुलाई थाहा छ नि । गुटकै कारण नै पार्टीले पराजय भोगेको हो नि ।

महामन्त्री कोइरालाले पार्टी सभापतिको दावी प्रस्तुत गरेको विषय सार्वजानिक भएको विषय समय सान्दर्भीक नभएको उपसभापति निधिको तर्क थियो । उनले सभापति हुने सबै नेताहरुको चाहना हुने भएपनि विधान संशोधनका लागि महासमिति बैठक समेत नबसेको अवस्थामा सभापतिको उमेदवारी घोषणा गर्नु गलत भएको बताएका छन् ।

अर्का नेता तथा संसदीय दलका उपनेता गच्छदारले भने सरकार असफलताको बाटोमा हिंडेको बताएकाछन् । उनले आठ महिनाको दौरानमा सरकारले केही गर्न नसकेको बताउँदै अबका केही दिनमा चमत्कार नभए सरकार असफल हुने दाबी गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved