किशोरीलाई प्याड बाँड्दै मेरिल्याण्डका विद्यार्थी

  • प्रकाशित मितिः आश्विन, 23, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / स्नातक तह दोस्रो वर्ष अध्ययनरत कृपा श्रेष्ठसँगै ३० जना सहपाठी सामाजिक अभियानमा छन् । उनीहरुको अभियान किशोरी स्वास्थ्य सुरक्षामा कसरी चासो बढाउने भन्नेमा छ । व्यापार व्यवस्थापन (बिबिएम) विषय अध्ययनरत विराटनगरस्थित मेरिल्याण्डका विद्यार्थीले आफ्नै कलेज परिसरमा रजश्वला हुँदा महिलाले लगाउने सेनेटरी प्याड बनाउने गरेका छन् । बनाएको प्याड ग्रामिण वस्तीका विद्यालयमा अध्ययनरत छात्रालाई उपलब्ध गराउँछन् ।

कलेजका ३० जना विद्यार्थीको यो अभियानको संयोजन गरिरहेकी छन् कृपा श्रेष्ठ । अध्ययनसँगै सामाजिक योगदान प्रेरित उनीहरु कलेजमै सेनेटरी प्याड बनाउनछन् र गाउँमा पु¥याएर बाँड्छन् । ग्रामिण वस्तीका विद्यालयमा अध्ययनरत छात्राहरुमा रजश्वला हुँदा सेनेटरी प्याडको प्रयोग बारे ज्ञान हुन्न । ज्ञान भएर पनि उनीहरु लाजगालले प्रयोग गर्दैनन् । रजश्वला भएको बताउनै नचाहने उनीहरुले घरमै भएका साना र मसिना कपडाको टु्क्रा प्रयोग गर्दछन् ।

तर, ..............
प्रयोगमा ल्याईने कपडा सफा वा सुरक्षित उनीहरुलाई थाहा हुन्न । जसरी हुन्छ, थाङ्ना प्रयोग गर्ने र अभिभावकले नदेख्ने ठाउँमा राख्ने बानी धेरैमा छ । त्यहि कपडा फेरिपनि प्रयोगमा आउन सक्छ ! त्यसको असर बारे ज्ञान नहुने किशोरीका लागि मेरिल्याण्डका विद्यार्थीले सेनेटरी प्याड बनाउने सीपसँगै प्रयोग गर्ने विधी र सुरक्षा बारेको ज्ञान भर्ने गरेका छन् ।

स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आफैं प्याड बनाउन सक्ने सीप र प्याड प्रयोग बारेको ज्ञान दिलाउँदै विद्यालयमा जाने कामलाई फुर्सदको सदुपयोगमा राखेका छन् ।  अभियानमा कलेजमा अध्ययनरत छात्रा मात्रै छैनन् । छात्रले समेत सेनेटरी प्याड निर्माणका लागि आवश्यक पर्ने सामाग्री व्यवस्थापन मिलाउनेदेखि छात्रा सरहकै कामहरु गर्दै आएका छन् ।

अभियानमा संलग्न विद्यार्थीहरुले पहिलो चरणमा सेनेटरी प्याड आफैं बनाउने र बाँड्ने, दोस्रो चरणमा प्रयोग भएनभएको बुझ्ने र तेस्रो चरणमा आवश्यक पर्दा आफ्ना लागि आफैं प्याड बनाउने ज्ञान र सीप सिकाउने गरेको संयोजक कृपा श्रेष्ठ बताउँछिन् ।

किशोरीहरुले आफ्नै घरमा भएका कपडाको प्रयोग गरेर बनाउन सक्ने सेनेटरी प्याडलाई कसरी सफा, स्वस्थ्य र सुरक्षित बनाउने भन्ने कुरा सिकाउने गरेका हुन् । रजश्वला हुँदा फोहोर कपडाको प्रयोगले संक्रमणको जोखिम हुन्छ । त्यस्तो जोखिम न्यूनीकरण समेत विद्यार्थी अभियानको लक्ष्य छ ।

विद्यालय उमेर समुहका किशोरीले घरपरिवारसँग भन्न नसक्ने र तत्काल समस्या टार्न जस्तोसुकै कपडा पनि प्रयोग गर्नसक्छन् । किशोरी स्वास्थ्य अभियानको मुल लक्ष्य समेत रजश्वला हुँदा घरपरिवारसँग आवश्यक पर्ने वस्तुको माग गर्न सकुन् र सरसफाईमा खुलेरै ध्यान दिउन् भन्ने रहेको संयोजक श्रेष्ठ बताउनुहुन्छ ।

किशोरी स्वास्थ्यका लागि सुरु गरेको विद्यार्थीहरुको यो अभियानलाई मेरिल्याण्ड कलेजले समेत आवश्यक सहयोग गर्दै आएको छ । कलेजको सहयोगमा विद्यार्थीहरुले सुनसरीको चिमडीस्थित नवदुर्गा विद्यालयका ३० किशोरीलाई प्याड उपलब्ध गराएका छन् । प्याड लिएका किशोरीहरुलाई रजश्वला हुँदा सरसफाई बारेको ज्ञान र प्याडको प्रयोग बारे सचेतना समेत गराइएको छ ।

कलेजमा अध्ययनरत किशोरीहरुले प्याड बनाउने र वितरण गर्ने अभियानको थालनी गर्नुको मार्मिक प्रसङ्ग भने फरक छ । अभियान थालनीको संयोग भने भारतीय हिन्दी फिल्म ‘प्याड म्यान’ बनेको थियो ।

उक्त फिल्म हेरेपछि महसुश भएको ज्ञानलाई उनीहरुले व्यवहारमा उतार्ने निर्णय गर्दै काम थालेको कलेजका निर्देशक भेषराज पोखरेल बताउनुहुन्छ । पढ्दै गरेका विद्यार्थीको अभियानले आफूहरुलाई समेत हौसाएपनि अध्ययनमा कमि हुनसक्ने कुरामा चिन्ता समेत उतिकै रहेको पोखरेलको भनाई छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved