टी-२० विश्वकप छनोट : नेपालले सहजै जित्यो भुटानलाई

  • प्रकाशित मितिः आश्विन, 23, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / विश्वकप टी–२० क्रिकेट छनोट अन्तर्गतको एशिया क्षेत्र समुह बीको चौथो खेलमा नेपालले भुटानमाथि सहज जित हात पारेको छ।

मलेसियाको यूकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले भुटानलार्इ १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। प्रतियोगितामा यो नेपालको लगातार चौथो जित हो।

यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराउँदा दोस्रो खेलमा मलेसियालाई पनि ८ विकेटले नै पराजित गरेको थियो। तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा अलआउट हुँदै ३३ रनमै समेटियो। उसका तेन्जिङ वाङचुक जुनियरले ११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका ललितनाराण राजवंशी र सन्दीप लामिछानेले समा ३/३ तथा बसन्त रेग्मीले २ विकेट लिए। ललितले चार ओभरको स्पेलमा २ ओभर मेडन राख्दै ४ रनमात्रै खर्चिदा सन्दीपले पनि ४ ओभरको स्पेलमा २ ओभर मेडन फाल्दै ६ रन दिएका थिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ओपनर प्रदीप एेरीको ७५ रनको पारीमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो। ६८ बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

यस्तै अनिलकुमार साहले २७, दीपेन्द्रसिंह एेरीले १५, आरिफ सेखले १३ तथा करण केसीले ११ रन जोडेका थिए।

असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन्। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन्।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शीर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved