भव्य अस्पताल : टेक्निसियनका भरमा प्रयोगशाला

  • प्रकाशित मितिः आश्विन, 21, 2075
  • नवराज कट्टेल

विराटनगर / सरकारी अस्पतालको रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने कोशी अञ्चल अस्पतालको प्रयोगशाला (ल्याब) पछिल्ला वर्षमा सुधार र स्तरोन्नती बन्दै गएको छ । अञ्चल अस्पतालको ल्याबको विषयमा निजी अस्पताल सञ्चालकले समेत प्रशंसा गर्ने गरेका छन् । मापदण्ड अनुसारकोे संरचना, प्रविधिमैत्री तथा जनशक्तियुक्त अञ्चल अस्पतालको ल्याबको तुलना निजी अस्पतालसँग दाँजेर हेर्न सकिने अवस्थामा छैन ।

तर, सरकारी सेवा प्रदान गर्ने विषयले कतिपय सेवाग्राहीका लागि सरकारी अस्पतालको ल्याब सेवा ‘फलाम’को च्यूरा सरह पनि छ । विराटनगरका निजी लगानी मध्येका न्यूरो–कार्डियो अस्पतालको ल्याब विश्वसनिय मानिन्छ । न्यूरो–कार्डियो जस्तै प्रविधिमैत्री र जनशक्तियुक्त ल्याबको रुपमा विराटनगर अस्पताल (विराट नर्सिङ) ले पनि स्थान बनाएको छ । दुवै अस्पताललाई दाँजेर हेर्दा प्रयोगशाला परीक्षणमा दुवै अब्बल छन् । दुवै अस्पतालको प्याथोलोजी विभाग विशेषज्ञ चिकित्सकको निगरानीमा चल्छ । 

त्यस बाहेक विराटनगरमा सञ्चालित अधिकांश अस्पतालका प्रयोगशाला (ल्याब) तोकिएको मापदण्ड अनुसार छैनन् । निजी लगानीमा सञ्चालित अस्पतालले दिदैं आएको सेवा र सुविधाको आधारमा, प्रयोगशाला जनशक्ति र यन्त्रविहीन छन् । आधुनिक स्वास्थ्य विज्ञानले रोगको पहिचानपछि मात्रै औषधी सेवन गर्नुपर्ने उपचार पद्धतीलाई अंगिकार गरेको भएपनि ठुला अस्पतालका प्रयोगशाला टेक्निसियनका भरमा छन् भने क्लिनिकले सञ्चालन गरेका प्रयोगशाला असिष्टेण्टका भरमा चलेका छन् ।

शै्या, चिकित्सकीय सेवादेखि अन्य सुविधाका आधारमा स्वास्थ्यको जाँचपड्ताल गर्ने प्याथोलोजी बिभाग समेत कतिपय ठुला अस्पतालमा टेक्निसियनले नै चलाउँछन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धित निर्देशिका २०७० ले शै्या र सेवाका आधारमा ल्याबमा हुनुपर्ने जनशक्तिदेखि भौतिक पूर्वाधारको यकिन गरेको छ ।

तर, यसका आधारमा बजारभरी खुलेका साना क्लिनिकले सञ्चालन गरेका ल्याबदेखि ठुला अस्पतालमा रहेका ल्याब समेतको मापदण्ड पुरा भएको देखिदैन । कोशी अञ्चल अस्पतालको ल्याबमा सुधार ल्याएसँगै अहिले धेरै विरामीहरु परीक्षण गराउन जाने गरेका छन् ।

तर, सबै विरामीका लागि अञ्चल अस्पतालको सेवा समेत प्रभावकारी बन्न सक्ने अवस्थामा छैन । नेपाल स्वास्थ्य सेवा प्याथोलोजी समुहले प्रयोगशाला जनशक्तिलाई जनरल प्याथोलोजी, हिस्टोलोजी÷साईटोलोजी, माईक्रोबायोलोजी, हेमाटोलोजी र एमडी बायोकेमिस्ट्रीमा विभाजन गरेको छ । यो योग्यता विशेषज्ञ सुचीमा पर्दछ ।

ठुला अस्पतालको सेवा र सुविधाका आधारमा न्यूनतम जनरल प्याथोलोजीमा एमबीबीएस वा सो सरह उत्तिर्ण गरि एमडी प्याथ, एमसिआर प्याथ वा डिप्लोमा प्याथ गरेको हुनुपर्ने मानेको छ । यसैगरी निर्देशिकाले निजी प्रयोगशाला सेवा प्रदानका लागि मेडिकल ल्याब टेक्नोलोजी समुह अन्तर्गत मेडिकल टेक्नोलोजिष्ट, विशेषज्ञ मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्निसियन, ल्याब असिष्टेण्ट तोकेको छ ।

ल्याब टेक्निसियनले जिल्ला अस्पतालदेखि केन्द्रीय अस्पतालहरुमा गरिने आधारभुत र साधारण परीक्षण मात्रै गर्न पाउँदछन् । असिष्टेण्टले हेल्थपोष्टदेखि जिल्ला अस्पतालसम्म गरिने आधारभुत र साधारण परीक्षणको सीमा तोकिएको छ ।

जटिल शल्याक्रिया हुने अस्पतालमा जनरल प्याथोलोजीस्तरको सेवा र जनशक्ति अनिवार्य मानिन्छ । तर, निजी लगानीका न्यूरो–कार्डियो र विरानटनगर अस्पताल (विराट नर्सिङ) तथा नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बाहेक अन्य कुनैपनि अस्पतालको प्याथोलोजी विभाग योग्य र दक्ष जनशक्तिबाट सञ्चालित छैन । नोबेल अस्पतालमै पनि कतिपयले प्याथोलोजी विभागप्रति प्रश्न उठाउँदै आएका छन् ।

विराटनगरमै सञ्चालित गोल्डेन, संंजीवनी, एम्स, सप्तकोशी, हाम्रो अस्पतालका प्रयोगशालामा डिप्लोमा इन प्याथोलोजीका भरमा छन् । जिल्लाभर ६२ अस्पताल छन् । अस्पताल बाहेक दर्ता भएका ४५ ल्याब छन् । कतिपय ल्याब भने पछिल्लो समय प्रविधिमैत्री र जनशक्तियुक्त खुलेका छन् । एसआरएल, एनआरएल र फोकस ल्याबलाई अहिले अस्पताल बाहिरका उत्कृष्ट ल्याबको रुपमा मानिन्छ ।

त्यस बाहेका अन्य साना क्लिनिकको अवस्था झनै दयनीय छ । विराटनगरमा मात्रै १ सय ११ वटा क्लिनिकहरु दर्ता भएर सञ्चालनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य निरीक्षक शंकरप्रसाद देव बताउँछन् ।

यसरी सञ्चालनमा रहेका क्लिनिकमा समेत ल्याब परीक्षण गर्ने गरिन्छ । यस्ता क्लिनिक असिष्टेन्टको भरमा छन् । ल्याब असिष्टेन्टले आधारभुत तथा साधारण नमुना संकलन बाहेक परीक्षण गर्न पाउँदैनन् । टेक्निसियनले मात्रै आधारभुत र साधारण नमुना परीक्षण गर्न पाउने स्पष्ट व्यवस्था छ ।

टेक्निसियनको भरमा चलेका ठुला अस्पतालको प्याथोलोजी विभागले दिने रिपोर्टको प्रमाणित समेत टेक्निसियनले गर्दै आएका छन् । यस्तो काम मानव स्वास्थ्यमा गरिने खेलबाडकै हाराहारीमा हुने वरिष्ठ विशेषज्ञ प्याथोलोजिष्ट सागरराज पाण्डेको भनाई छ ।

उनका अनुसार रोगको निदानपछिको औषधी अमृत सरह हुने भएकाले प्रयोगशाला सञ्चालनलाई कानुनी दायरा भित्र ल्याउनु पर्नेहुन्छ; मापदण्डविपरीत खुलेका ल्याबलाई तत्काल बन्द गर्नुपर्ने हुन्छ ।

प्राथमिक उपचारपछिको सबै स्वास्थ्य समस्याको पहिचान प्रयोगशाला वा रेडियोलोजी विभागमार्फत यकिन गर्नुपर्ने हुन्छ । चिकित्सकले औषधीको सिफारिस वा शल्याक्रियाको सिफारिस समेत प्रयोगशाला र रेडियोलोजी विभागको प्रतिवेदनका आधारमा गर्ने गरेका छन् । विशेषज्ञ चिकित्सक डा.पाण्डे भन्नछन्–डाइगोनिष्टीक इज र ब्याक बोन अफ ट्रिटमेन्ट ।’

न्यूरो अस्पतालको प्याथोलोजिष्ट विभाग प्रमुख समेत रहनु भएका डा.पाण्डे उपचारमा आउने सेवाग्राहीले औषधीको भन्दा बढी भर ल्याब वा रेडियोलोजिको गर्नुपर्ने बताउँछन् । प्राथमिकता उपचारपछि कुनैपनि विशेषज्ञ चिकित्सकले ल्याब परीक्षण वा रेडियोलोजीको रिपोर्टलाई आधार मानेर औषधी लेख्ने कुरा सर्वसाधारण तहमा बुझ्नु पर्ने विषय हुन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved